३१ बैशाख २०८१, सोमबार 1715630136
Banner

१ करोड ५ लाख घुस लिएको आरोपमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई आज (बुधबार) कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयाे । ‘हिजो–अस्ती उहाँ हाजिर हुनुभएको थिएन । बिदा पनि थियो । आज उहाँ हाजिर भएको थाहा पाएपछि हामीले लिएर आयौं,’ पौडेलले भन्नुभयाे ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो । उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभएकाे छ ।

सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए ।

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड २५  लाख रूपैयाँ घुस दिएको बताएका थिए । 

सहकारीले पोखरासहित स्याङ्जाको आँधीखोला गाउँपालिकामा सेवा केन्द्र स्थापना गरेको थियो। सहकारीले स्थानीय तहभन्दा बाहिर शाखा वा सेवा केन्द्र सञ्चालन गर्दा सहकारी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्छ । पराजुली २०६९ भदौ दोस्रो सातासम्म सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख थिए । सहकारी रजिष्ट्रारका रूपमा झण्डै २ वर्ष उनी पोखरा बसेका थिए । उनी रजिष्ट्रार भएकै बेला मित्रमिलन सहकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गरेको थियो ।