१९ बैशाख २०८१, बुधबार 1714572679
Banner

शिक्षाको औचित्य के हो ?

“शिक्षाले नयाँ पुस्तालाई आजको परीक्षाको लागि होइन, नयाँ संसारका लागि वैश्वीक नागरिक र आ(आफ्नो सामुदायिक जीवनमा उपयोगी असल नागरिकका रूपमा तयार गर्नुपर्छ।”

आज शिक्षामा आमूल परिवर्तनको समय आएको कुरा मुख्य सरोकारवालाहरूले बुझ्नुपर्छ। खासगरी राजनैतिक नेतृत्वमा शिक्षामा आमूल सुधार वा परिवर्तन गर्ने इच्छाशक्ति पनि हुनुपर्छ। तर हामीले शिक्षाको राष्ट्रिय उद्देश्य बनाउन नै बिर्सियौं। शिक्षाको दार्शनिक पक्ष के हो ख्यालै गरेनौं। हामीले त शिक्षा र शिक्षालयलाई राजनीतिक गतिविधिहरू गर्ने थलोमात्र बनाएका छौं। बालबालिकाहरूको हित र देशको भविष्यप्रति बेवास्ता गरेर बेरोजगार तयार गर्ने कारखानामात्र बनाइरहेका छैनौं उनीहरूलाई वस्तुको रूपमा विदेश निर्यात पनि गरिरहेका छौं।

गोपीनाथ मैनाली, नेपाल सरकारका पूर्व सचिवले आफ्नो लेख ‘शिक्षा सपारे सबै सप्रन्छ’ मा लेखेका छन्, “शिक्षा अपेक्षित नहुँदा समाजमा असल संस्कार बस्न सकेन। राजनीति सदाचारी भएन। प्रशासन व्यावसायिक भएन। अर्थतन्त्र उद्यमशील भएन।” जबकि प्रशासनमा नेतृत्वमा रहेका बेलामा मैनालीजी के के गर्नुभयोरु मैनालीले भन्नु भएको छैन्। केही गर्न नसकेको भए आत्मआलोचित हुनुपर्थ्यो किनभने उनको प्रशासनिक कार्यकाल कुनै त्यस्तो उदाहरणीय काम गरेको कुरा उनले आफ्नो लेखमा उल्लेख गरेका छैनन्।

शिक्षालाई लिएर जोन डेवीले भनेका छन्, “शिक्षा जीवनको तयारी होइन, शिक्षा नै जीवन हो।” अनि निकोलोस क्रिस्टोफले भनेका छन्, “शिक्षा अवसर प्राप्तिका लागि उत्तम भर्याङ हो।” जोन डेवी र निकोलोस क्रिस्टोफको भनाईले शिक्षाको महत्त्व कति छ भन्ने कुरा स्पष्ट पारेको छ। यदि गुणस्तरीय शिक्षामार्फत नागरिक क्षमतावान बनाउन सकियो भने राजनीतिकमात्र होइन देशको प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्था जनमुखी र गुणस्तरीय बनाउँछ।

एउटा कुरा हामीले बुझ्नुपर्छ “गुणस्तरीय शिक्षा सामाजिक व्यवहार परिवर्तन गराउने पहिलो मुख्य आधार हो।” तर नेपालमा शिक्षा व्यापारीका लागि शिक्षा नाफा कमाउने व्यवसाय बनाउन खोजिएको छ। जसले गर्दा शिक्षालयबाट नागरिक होइन वस्तु उत्पादन भइरहेको छ, त्यसैले हाम्रा शैक्षिक उत्पादनहरू वस्तु झैं निर्यात भइरहेको छ। कम्फर्टेबलवादी शासकहरू विप्रेषण यति आयो उति आयो भनेर हिसाब देखाउँदैछन्। जबकि शिक्षाले देशका लागि श्रम र सेवा गर्ने नागरिक तयार गर्नुपर्छ। त्यसैले “गुणस्तरीय शिक्षा समतामूलक समाज र देशको दिगो भविष्यको आधार हो।”

शिक्षामा निजी क्षेत्रको लगानीलाई लिएर सर्वोच्च अदालतले भनेको छ, “शिक्षा मुनाफा कमाउने वस्तु होइन। शिक्षाको पहुँच र गुणस्तर बढाउन निजी क्षेत्रको दायित्वलाई सहयोग पुर्याउन महत्त्वपूर्ण जिम्मेवारी हुने मान्यता राखी निश्चित मापदण्डका आधारमा मूलतः शैक्षिक उत्पादनमा समानता हुनेगरी निजी शिक्षण संस्था स्थापना र सञ्चालन गर्न पाउने हक संविधानले प्रदान गरेको मान्नपर्ने देखिन्छ।”

शिक्षाविद् इन्गे रोजेञ्डल भन्छिन्, शिक्षाले निम्न अपेक्षाहरू पुरा गरेको हुनुपर्छस
 नतिजामाथिको प्रक्रियालाई महत्त्व दिन सिकाउनु पर्छ
 नयाँ अभ्यासहरू प्रयास गर्ने र असफलताहरूबाट सिकाउनु पर्छ
 विद्यार्थीहरूको रूचि, उद्देश्य र जोशलाई बुझेर उनीहरूलाई उनीहरूको सिकाइ यात्राको स्वामित्व लिन दिनुपर्छ
 सामाजिक, वातावरणीय, आर्थिक र प्राविधि प्रणालीहरू बीचको अन्तरनिर्भरता बुझाउनु पर्छ
 निष्ठा र समानुभूतिको साथ नैतिक दुविधाहरू हटाउनु पर्छ।

त्यसैले हामी शिक्षाको विश्वदृष्टिकोणका बारेमा स्पष्ट हुनुपर्छ। जबसम्म हाम्रो आफ्नै विश्वदृष्टिकोण शिक्षामा प्रतिविम्बित हुँदैन् तबसम्म शिक्षामा हामीले गरेको लगानीले अपेक्षित नजिता दिन सक्दैन्। नागरिकहरू शिक्षित त हुन्छन् तर देशप्रति जिम्मेवार बन्ने मनस्थितिबाट निर्देशित हुँदैनन्। परदेशिने संस्कृतिलाई स्वभाविक ठान्छन्। शिक्षाले हरेक विद्यार्थीहरूलाई भौतिक, भावनात्मक, मानसिक र आत्मिक रूपमा बलियो बनाउन सक्नुपर्छ। यसका लागि शिक्षामा प्रयोग गरिने भाषाहरूले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। मातृभाषालाई लिएर लुडविग विटगेनस्टेन भन्छन्, “मेरो भाषाको प्रयोगमा सिमा तोक्नु भनेको मेरो संसारलाई सीमित बनाउनु हो।”

देश समृद्ध र बलियो बनाउन शिक्षाले मुख्य भूमिका खेलेको हुन्छ। यो सत्यलाई बुझेर हामीले हाम्रो विश्वदृष्टिकोणको जगमा नयाँ शिक्षा व्यवस्थाको विकास र प्रभावकारी कार्यान्वयन गर्न लगानी पनि बढाउनु पर्छ। ग्लोबल नर्थको प्रभावमा परेर नीति तथा कार्यक्रमहरू बनाउने र त्यसमा लगानी गर्नु भनेको देश र जनताको स्वार्थ कमजोर बनाउनु हो। जति(जति हाम्रो शिक्षा तथा सामाजिक व्यवस्थामा पश्चिमा विश्वदृष्टिकोण हावी हुँदै आयो त्यति(त्यति हामी कमजोर र परनिर्भरमात्र भइरहेका छैनौं, हामीले हाम्रो मौलिक राष्ट्रिय पहिचान पनि कमजोर बनाइरहेका छौं। पलायन संस्कृतिलाई बढावा दिने नीतिहरूको निरन्तरता दिइरहेका छौं र नागरिक पलायन संस्कृतिले व्यापकता पाइरहेको छ। तर यसको तथ्यसँगत ढंगले विरोध नहुँदा देश हिजोभन्दा आज कमजोर र युवाविहीन बन्दैछ।

आज शिक्षा व्यवस्थामा आमूल परिवर्तनको कुरा गरिरहँदा हामीले शिक्षाको विश्वदृष्टकोण र राष्ट्रिय उद्देश्यसँगै भाषाहरूको सन्तुलित प्रयोग र अब्बल शैक्षिक जनशक्तिको विकासलाई पनि मुख्य मुद्दा बनाउनु पर्छ। किनभने भाषासँग भाषिक समुदायको चिन्तन प्रणाली अर्थात विश्वदृष्टिकोण, मौलिक धर्म संस्कृति, मूल्यमान्यता, पहिचान, ज्ञान, विज्ञान, सीप र कलाहरू जोडिएको हुन्छ। त्यसैले शिक्षा व्यवस्थाले यी सबै पक्षहरूलाई समेट्न सक्नुपर्छ।

सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकियो भने नेपालमा गरिबी बिस्तारै हट्न थाल्छ र नागरिक पलायनको संस्कृति कमजोर बन्नेछ। शिक्षा व्यवस्थालाई लिएर ‘जीवनोपयोगी शिक्षाको खाँचो’ शीर्षकमा भावनाथ प्याकुरेल लेख्छन्, “असल विद्यार्थी नै असल नेता हुन्। असल नेता नै देशको विकास गर्ने दूरदर्शिता देखाउन सक्छन्। त्यसैले पनि राजनीतिक दल र शिक्षाको क्षेत्रमा काम गर्ने प्रत्येक राष्ट्र सेवकले शिक्षा सुधार गर्न आजै पहल गर्न आवश्यक छ।”

शिक्षाका बारेमा डेक्कन क्रोनिकलले भनेका छन्, “२१औं शताब्दीको शिक्षाको परिदृश्य डिजिटल आविष्कार र प्रविधिको प्रभावले निर्विवाद रूपमा परिवर्तन भएको छ। जहाँ विद्यार्थीहरू कुनै समय सिकाइ प्रक्रियामा केवल दर्शकमात्र थिए, निष्क्रिय रूपमा सूचना प्राप्त गर्ने, प्रविधिले उनीहरूलाई उनीहरूको शैक्षिक यात्रामा सक्रिय सहभागी बन्न सक्षम बनाउँछ।”

यतिबेला प्राज्ञिक अर्थात बौद्धिक व्यक्तित्वहरू सत्य र प्रगति पक्षमा उभिन्छन् अनि नकारात्मकता हटाउन र समाजको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन सहयोगी हुन्छन्। तर दुर्भाग्यको कुरो त्यो क्षमता र नियत प्राज्ञिकहरूमा त्यो क्षमता र नियत देखिएन। यसको मुख्य कारण उनीहरूले पाएको शिक्षा ठीक छैन् अनि उनीहरू व्यक्तिगत स्वार्थ हेरेर गलत भाष्य स्थापित गर्ने भूमिका गरिरहेका छन्। जसका कारणले सामाजिक मनोविज्ञान अनपेक्षित रूपमा नकारात्मक बन्दैछ। जुन देशको आवश्यकता र जनचाहना पनि होइन।

अन्तमा हामीले बुझ्नु र बुझाउनु पर्छ, प्रजातन्त्र आएको सात दशकपछि पनि हामी कस्तो प्रजातन्त्र, शासन व्यवस्था र राजतन्त्र भन्ने अनावश्यक प्रश्नहरूमा अलमलिरहेका छौं। जबकि हामी शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीलाई समयानुकुल बनाउन केन्द्रीत हुनुपर्थ्यो। राज्य सत्ताको नेतृत्व गरिरहेकाहरू हुन कि अभिभावकहरूले शिक्षाको औचित्य के हो बुझ्नुपर्छ। राज्य र अभिभावकहरूले शिक्षामाथिको लगानी देश र परिवारको भविष्यमाथिको लगानी हो भनेर बुझेको हुनुपर्छ। परदेशिने संस्कृतिलाई बढावा दिने शिक्षा व्यवस्थाको अन्त्यका लागि आवाज उठाउनु पर्छ।