२२ बैशाख २०८१, शनिबार 1714869182
विचार

सङ्कल्प यात्रा अभूतपूर्व सफल भयो: विष्णु रिमाल

काठमाडौं, पुस ६ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताउनु भएको छ ।

एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा जनताटाइम्स डटकमसँग कुरा गर्दै उपमहासचिव रिमालले मध्यपहाडको जीवनस्तर उकास्न फलफूल र कृषि उत्पादन तथा पशुपालनमा नै जोड दिनु पर्ने उहाँले बताउनुभयो ।

किसानको कृषि र पशु बिमा गरिदिने र उत्पादन खरिद गर्ने जिम्मा राज्यले लिइदिने हो भने मध्यपहाडमा कृषिमा व्यावसायीकरण गर्न सकिने उहाँको भनाइ छ । ‘यति गर्यो भन्ने कृषि व्यवसायीकरणमा जान्छ, यही नै समस्या अहिले मध्यपहाडको कृषिमा देखिएको छ’, रिमालले भन्नुभयो । मध्यपहाडको सयपत्री फूल र सुन्तलालाई मात्रै बजारीकरण गर्ने हो भने पनि त्यहाँको जीवनस्तरमा आमूल परिवर्तन गर्न सकिने उहाँको ठम्याइ छ ।

‘सयपत्री र सुन्तलाले बजार पाउने हो भने त यी मान्छे मालामा हुन्थे नि, त्यो त व्यवहारले पनि देखाएको छ’, रिमालले भन्नुभयो । गाउँबाट बाहिर गएका युवालाई गाउँमा नै बस्न आकर्षण गराउनु अहिलेको प्रमुख चुनौती रहेको रिमालले बताउनुभयो । मधेश र चुरेमा सडक पुग्ने बित्तिकै बजारीकरण भएको भए पनि पहाडमा भने अझै बजारीकरण हुन नसकेको उहाँले बताउनुभयो । त्यसैले पहाडामा बजारीकरण र औद्योगीकरण आजको आवश्यकता रहेको उहाँको भनाइ छ । ‘यी माल बिक्न थाल्नासाथ मान्छे अन्त जाँदैनन, उद्यमशीलतातर्फ युवालाई डोर्याउन सकिन्छ, यसले बसाइसराइ र विदेश जाने लहर रोक्न सकिन्छ’, रिमालले थप्नुभयो ।

बाटो र बिजुली पुगेपछि मानिसमा चेतना बढेको र गाउँ सहर जस्तो भएको उहाँले बताउनुभयो । यससँगै राम्रो विद्यालय र अस्पताल पनि गाउँमा चाहिने उहाँको भनाइ छ । त्यति भयो भने मात्र गाउँमा मानिस बस्ने उहाँले प्रष्ट पार्नुभयो । त्यसैको लागि एमालेले स्वास्थ्य बिमा र हरेक गाउँमा अस्पतालको अवधारणा अघि सारेको उहाँले बताउनुभयो । तर अहिलेको सरकारले त्यसको बजेट कटौती गरेर काम ठप्प गरेको भन्दै उपमहासचिव रिमालले कडा आपत्ति पनि जनाउनुभयो ।

हामीले आह्वान मात्र गर्यो, लाखौँको सङ्ख्यामा नागरिकले साथ दिनुभयो, यस अर्थमा हाम्रो कार्यक्रम अभूतपूर्व रूपमा सफल भएको छ

यात्राको क्रममा पहाडका स्कुलमा विद्यार्थीसंख्या अति न्यून देखिएको बताउँदै उहाँले त्यसको पनि कारण र विकल्प खोज्नुपर्ने उहाँको जोड छ । गाउँमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिएर उद्यमशीलताको अवसर सिर्जना गर्ने हो भने मध्यपहाड बसोबासको हिसाबले अति उपयुक्त हावापानी भएको भूमि भएको उहाँले बताउनुभयो । विकास सहरबाट गाउँ पस्ने तर मानिस गाउँबाट सहर पस्ने र सहरबाट पनि विदेश पस्ने कुराको कारण खोजी त्यसलाई रोक्नु पर्छ भन्ने भन्ने मूल उद्देश्य लिएर यात्रा आरम्भ गरिएका उहाँले बताउनुभयो । पुष्पलाल लोकमार्ग एमालेको सोचको मार्ग भएको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेले सो लोकमार्गको अवधारणा बनाउँदा लोकमार्ग भित्र १० वटा सहर बनाउने र ती मध्ये केहीलाई स्मार्ट सिटी बनाउने योजना अघि सारेको उहाँले सुनाउनुभयो । ‘ती सहर बने कि बनेनन्, नबनेका भए किन बनेनन्, त्यसको कारण खोज्ने पनि यात्राको उद्देश्य थियो’, उहाँले भन्नुभयो । मध्यपहाडमा कृषिको व्यवसायीकरण सम्भावना र अवस्था कस्तो छ, कृषिमा व्यवसायीकरण भइरहेको छैन भने किन हुन सकेको छैन भन्ने कुराको खोजी गर्नु पनि यात्राको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

सांस्कृतिक एकता नै राष्ट्रिय एकता हुने भएकोले त्यसलाई जोड् र पार्टीलाई स्थानीय तहका जनतासम्म जोड्न पनि यात्रा सञ्चालन गरिएको उहाँको भनाइ छ । नेपालमा बलियो राष्ट्रिय शक्ति नबनी लोकतन्त्र र प्रणाली पनि जोगाउन नसकिने कुरालाई आत्मसाथ गरेर नै एमालले यो यात्रा सञ्चालन गरेको उहाँले प्रष्ट पार्नुभयो । यात्राको क्रममा ३० वटा जिल्ला पार गर्दा ३० भन्दा बढी सांस्कृतिक विशेषता पहिचान गर्ने अवसर मिलेको उहाँले बताउनुभयो ।

धेरै मानिसले यो यात्रालाई पदयात्रा भनेका भए पनि त्यो पदयात्रा नभएर गाडीकै यात्रा भएको उहाँले बताउनुभयो । साथै समृद्धिको लागि संकल्प यात्रा चुनावी सभा जस्तो पनि नभएको उहाँले बताउनुभयो । ‘हामी जनतालाई भेट्न चाहन्थ्यो, जनतासँग कुरा गर्न चाहन्थ्यो, हामीले भनेकै थियौँ एमालेको लस्कर हिँड्छ, लस्करलाई भेट्न बाटाभरि मानिसहरू बस्छन्’, उहाँले भन्नुभयो ।

पहिला पहिला कार्यक्रममा जनतालाई उतार्न धेरै मेहनत गर्नुपरेको भए पनि यस पटकको यात्रामा पार्टीले कुनै मेहनत नगरेको उहाँले प्रष्ट पार्नुभयो । ‘हामीले आह्वान मात्र गर्यो, लाखौँको सङ्ख्यामा नागरिकले साथ दिनुभयो, यस अर्थमा हाम्रो कार्यक्रम अभूतपूर्व रूपमा सफल भएको छ’, उहाँले भन्नुभयो ।

यात्राको क्रममा ४२ भन्दा बढी ठाउँमा सभा गरिएको उहाँले जानकारी दिनुभयो । ती हरेक सभाका आफ्ना विशेषता रहेका रिमालले बताउनुभयो । जाडोको समयमा छाता ओढेर पनि मानिसहरू अध्यक्षलाई सुन्न बसेका उहाँले सुनाउनुभयो । त्यस्तै रातको १० बजेसम्म मानिसहरू पर्खिएर बसेका उहाँले बताउनुभयो ।

नेपालको राजनीति इतिहासमा सिङ्गो पार्टी यसरी नागरिकका कुरा सुन्न पूर्वदेखि पश्चिमसम्म हिँडेको यो पहिलो अभियान भएको उहाँले बताउनुभयो । ‘हामी प्रत्येक जनतासँग भेट्ने हिसाबले हिँड्यौँ, २५ लाख भन्दा बढी जनतलो हाम्रो अध्यक्षले प्रत्यक्ष परोक्ष रूपमा भेटे, नेताहरूलाई ग्राउण्ड जिरोबाट नेपाल परिचय गराउने र जनतालाई समग्र एमालेको नेतृत्व कस्तो छ भन्ने चिनाउने यी दुवै कायमा हाम्रो यो यात्राले गराएको छ’, उहाँले भन्नुभयो ।

यात्रामा एमालेको सरलता र शालीनता पनि जनताले बुझ्न पाएका उहाँले बताउनुभयो । नेताहरूले जनताको घरमा र सामूहिक रूपमा सुत्नेदेखि, जनताले बनाएको मेसमा खानेसम्मका अति सकारात्मक र गौरवपूर्ण काम भएका उहाँले बताउनुभयो । त्यस्तै पार्टी अध्यक्षदेखि चालकसम्म एउटै ठाउँमा सुतेर समभाव विकास गर्न पनि यात्राले सहयोग गरेको उहाँले सुनाउनुभयो ।