२२ बैशाख २०८१, शनिबार 1714869485
Banner

एमालेको सङ्कल्प यात्रा: समापन कि सुरूवात ?

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको एमालेको ‘समृध्दिको लागि सङ्कल्प यात्रा’को भव्य सफलतासँगै समापन भएको छ । पुष्पलाल मध्य पहाडी लोकमार्गमा भएको यो यात्रामा सामेल नेकपा (एमाले)को करिब तीनहप्ते महायात्रामा जनताको अपार सहभागिता रह्यो । मध्य पहाडी लोकमार्गमा पर्ने हरेक पालिकाका बहुसङ्ख्यक जनताले पार्टी अध्यक्ष के पी शर्मा ओलीले नेतृत्व गर्नुभएको शीर्ष नेतृत्वलाई न्यानो स्वागत र अपार श्रध्दा प्रकट गरे। जनतासँग यो पैमानाको नेताको भेटघाट एमालेको इतिहासमा मात्र होइन, कुनै पनि पार्टीको इतिहासमा थिएन । पार्टी नेतृत्वलठ्ठी टेकेर जेष्ठ नागरिकहरू, झण्डा बोकेर युवा विद्यार्थीहरू, झाँकी बोकेर कलाकारहरू,माला बोकेर महिलाहरू,बाजागाजा बोकेर वाध्यवादकहरू,समस्या बोकेर सेवाग्राहीहरू सडकमा निस्किए। यात्रारत टोलीलाई कतिपय पालिकामा सर्वदलीय स्वागत गरियो भने धेरै जिल्लामा माओवादी नेता कार्यकर्तालेसमेत स्वागतमा सामेल भए। नेकपा हुँदा एमालेको शक्तिको स्वाद चाखेका केही माओवादी नेतालाई ओलीप्रतिको क्रेज र एमालेको माया अन्तर कुन्तरमा बाँकी नै भएको देखाउँछ ।

जनताले ठूलो आशाको नजरले हेरेको,जनताको पक्षमा पक्षमा डटेर काम गरिरहेको,समाजवादको आधार तयार गर्न दीर्घकालीन महत्वका काम गरिरहेको नेकपा (एमाले)को सरकारलाई सेटिङमा अदालतको माध्यमबाट विस्थापन गरेर बनेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै काम गर्न सकिरहेको छैन । बरु राज्य संयन्त्रको दुरुपयोग गरेर चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिमा मात्र तल्लिन भयो । निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको गठबन्धन सरकार त काण्डै काण्डमा मुछिन पुग्यो । नक्कली भुटानी शरणार्थी काण्ड,सुन तस्करी काण्ड र पछिल्लो एनसेल करछली प्रकरणमा सरकारको कतै न कतै संलग्नता देखियो । यो सरकारको गैर जिम्मेवारीपन, दिशाहीनता,अकर्मण्यता, स्वार्थकेन्द्रित क्रियाकलाप,प्रधानमन्त्रीका निकटस्थहरूको कमाउधन्दाको कारण नेपाली जनता वाक्क भएको बेला जनताले वेटिङ गभरमेण्टको रूपमा रहेको प्रमुख प्रतिपक्ष एमालेलाई यति धेरै माया देखाए । गठबन्धनको भारी बोक्नुभन्दा एमालेलाई भारी बहुमत दिए देश बन्ने रहेछ भन्ने जनताले महसुस गरेको आभास मिलेको छ । लोकतन्त्रमा जनता नै मालिक र परिवर्तनका संवाहक हुन् । एमालेको सङ्कल्प यात्रालाई भव्य रूपमा सफल बनाएर आगामी चुनावको जनताले गर्न सक्ने निर्णयको पूर्वानुमान गर्न सकिने भएको छ । राजावादी र कथित नयाँ दलवादीको हौवा त हौवामा सीमित रहेछ भन्ने त यो यात्राले पुष्टि नै गरिदिएको छ ।

नेपाली जनताको ठूलो त्याग,तपस्या र वलिदानबाट नेपालमा राजतन्त्रीय निरङ्कुशताको अन्त्य भइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो व्यवस्था कुनै पार्टीविशेष वा नेताविशेषले टुप्लुक्क ल्याइदिएको व्यवस्था होइन । आफ्नो रगत(पसिना खर्चेर ल्याएको पूर्ण लोकतान्त्रिक व्यवस्थाविरोधी प्रतिगामी चलखेल भइरहेको वर्तमान सन्दर्भमा त्यसप्रति खबरदारी गर्न मुक्तिकामी नेपाली जनता सडकमा आए, तुमुलकारी परिवर्तनको मुख्य संवाहक नेकपा (एमाले)को यो महायात्रामा ऐक्यवध्दता जनाए । र यो प्रष्ट गरिदिए कि कुनै पनि बहनामा जनताको बलमा आएको उपलब्धि कुण्ठित गरिए जनता सहेर बस्ने छैनन्।

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि नै नौलो जनवादी क्रान्ति नेपालमा स्थापना हुनुपर्छ भनेका हुन् । एमालेको पाँचौं महाधिवेशनले नेपालको धरातलीय यथार्थमा जनताको बहुदलीय जनवादी क्रान्तिको जननेता मदन भण्डारीको लाइन समातेको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको छ । नेपाली जनताको अबको यात्रा समाजवादतर्फको हो । जनताको समाजवादी यात्रालाई रोक्न चाहने प्रतिक्रियावादी(पूँजीवादी शक्ति र समाजवादी शक्तिबीचको अन्तरविरोध नै अहिलेको प्रधान अन्तरविरोध हो । समाजवादी यात्रामा अवरोध डाल्ने प्रतिक्रियावादी तत्वलाई परास्त गर्न र श्रमजीवी जनताको राज्यसत्ता निर्माण गर्ने उत्कट अभिलाषा राखेर अहिले मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने नेपाली जनता एमालेलाई साथ दिन सडकमा आए ।

नेकपा (एमाले)ले ‘समृध्दिको लागि सङ्कल्प यात्रा’ मार्फत् नेकपा(एमाले)ले मध्य पहाडका जनताले भोगिरहेका विभिन्न समस्याको पहिचान गरेको छ । समस्याको वास्तविक रूपमा पहिचान नगरी तिनीहरूको सही समाधान खोज्न सकिंदैन । हाल एमाले नेतृत्वका स्थानीय सरकारमार्फत् र प्रदेश र केन्द्रको सरकारमा पुग्दा एमालेले जनताको हितमा के-के काम गर्नुपर्छ भन्ने प्रष्ट भएको छ । आफ्नो समस्या सुन्न एमालेको सिङ्गो नेतृत्व टिम नै आफ्नो घर दैलोमा आएकोमा मध्य पहाडी क्षेत्रका जनता अनुगृहित छन् एकातिर भने अर्कोतिर राष्ट्रिय नीति-निर्माण र बजेट निर्माणमा एमालेलाई जनताका गुनासा, सुझाव र पृष्ठपोषण अत्यन्त उपयोगी हुनेछन् । यात्राको क्रममा आएका जनताका पीरमर्का, गुनासा र सुझावलाई संसदको बिजनेस बनाउने वा जनताको मागको रूपमा सरकारलाई बुझाउने काम एमालेले गर्ने नै छ । नेपाली जनताले आस गरेको एकमात्र पार्टी हुनुको नाताले एमालेले आगामी दिनमा निरन्तर यो दिशातर्फ पहल गरिरहने अपेक्षा गर्न सकिन्छ । मध्य पहाडी जनताको समृध्दिको लागि आयोजना गरिएको यो सङ्कल्प यात्रा हाल समापन भए पनि यसलाई गर्विलो सुरूवातको रूपमा लिन सकिन्छ किनभने नेपाली जनतालाई समृध्द बनाउन एमालेले गर्नुपर्ने कामको फेहरिस्त लामै छ, जो आगामी दिनमा थप प्रष्ट हुँदै जानेछ ।