१५ बैशाख २०८१, शनिबार 1714253681
कृषि

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारु महिला

दाङ- बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला । तुलसीपुर बजारका चोकचोकमा किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् । चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुनुहुन्छ तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी ।

उहाँ व्यावसायिरूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषिकर्मबाट राम्रो आम्दानी भएको छ ।” गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर हुनुभएको छ । दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उहाँको कृषि आम्दानीले थेगेको छ । पाँचदेखि कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उहाँले वार्षिक रु दुईदेखि साढे दुई लाखसम्म बचत गर्दै आएको सुनाउनुभयो । बचत रकमबाट नै उहाँले मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आउनुभएको छ । त्रिपन्न वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राख्नुभएको छ । पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेडा फलाउने उहाँ धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउनुहुन्छ । उहाँले गत वर्ष रु तीन लाख आम्दानी गरेको बताउनुभयो । तुलसीपुर १६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिकरूपमा सागसब्जी लगाएर गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले वार्षिक रु साढे तीन लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । सागपात बेचेर नै उहाँले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधि पढाउनुभएको छ । परिश्रमअनुसार पर्याप्त प्रतिफल प्राप्त हुने कृषिकर्ममा नै आफ्ना सन्तानलाई लगाउने आफ्नो सोच रहेको उहाँले राससलाई बताउनुभयो ।