२०७९ आश्विन १९ बुधबार 1665011460
Banner

‘एमाले त आयो आयो, गठबन्धनले हावा खायो ! ’

विक्रम् सम्बत् २०७९ सालको वैशाख ३० तोकिएको स्थानीय निर्वाचनले राजनीतिक माहौल दिन प्रतिदिन तताइरहेको छ । देशको सबभन्दा ठूलो राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो पक्षमा जनलहर ल्याउन टोलटोलमा पुगिरहेको छ भने त्यसको विपक्षमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने भगिरथ प्रयत्न भइरहेको छ । सत्ता गठबन्धनमा सहभागी दलहरू आ–आफनो च्याँखे दाउ थापेर सतरन्ज खेलिरहेका छन् । एमालेभन्दा नेपाली काङ्‌ग्रेसलाई अब्बल क्रान्तिकारी र अग्रगमनकारी देख्रे प्रचण्ड र माधव नेपाल नेपाली काङ्‌ग्रेसको भोट बटुलेर आफ्नो राजनीतिको रोटी सेक्ने भगिरथ प्रयत्नमा छन् । आफ्ना नेता कार्यकर्ता धमाधम एमालेमा लामबद्ध भइरहेको अवस्थामा उनीहरूसंग योभन्दा अरू विकल्प छैन ।

जनादेशलाई परमादेशले छेकेर वर्तमान सरकार सत्तामा आएपछि समाजका हरेक क्षेत्रमा बेथिति पैदा भएको छ । देशको अर्थतन्त्र डामाडोल भएको छ । महँगी चरमचुलीमा पुगेको छ । दक्षिण एसियाली मुलुक श्रीलङ्‌कामा आएको आर्थिक सङ्‌कट नेपालमा आउन सक्ने आँकलन समेत हुन थालेको छ । ब्यापार घाटा आक्कासिएको छ । बन्दुक र युद्धका मात्र ज्ञान भएका अर्थशास्त्रमा शून्य ज्ञान भएका अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन सक्ने अवस्था छैन । आफू पनि नजान्ने, अरूको कुरा पनि नसुन्ने हठी अर्थमन्त्रीले एमालेले बल्लबल्ल लयमा ल्याएको नेपालको अर्थतन्त्र तहस नहस बनाउँदैछन् ।

देशको यो दुरावस्था ल्याउन आफूलाई अब्बल क्रान्तिकारी करार गर्दै आएका माओवादी सुप्रिमो प्रचण्डको प्रमुख हात छ । उनी सही विचारको निर्क्यौल गर्न नसक्नेमात्र होइन, व्यक्ति छनोटमा पनि उनी असक्षम सावित भएका छन् । प्रचण्डले अगाडि सारेका अग्नि सापकोटा, कृष्णबहादुर महरा र जनार्दन शर्माजस्ता व्यक्तिमा कारण आज देशमा समस्या आएको छ । त्यसभन्दा बढी प्रचण्ड र माधव मिलेर गत आम निर्वाचन सर्वनाक हारेर पाँचवर्ष थन्किएर बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाजस्ता सत्ता सञ्चालनमा पटक–पटक असफल भएका व्यक्तिलाई ओलीजस्ता योग्य शासकको विकल्पमा अघि सार्ने घोर कम्युनिष्टविरोधीकदम नै अहिले देशमा देखिएको तमाम समस्याको जड हो ।

तर क्षणिक रूपमा सत्ताबाट बाहिरिए पनि एमाले जनतामा अत्यधिक लोकपृय बनेको छ । अघिल्लो स्थानीय निर्वाचनको सङ्घारमा एमालेलाई प्रवेश निषेध गरेको मधेश प्रदेशले अहिले जताततै रातो कार्पेट विछ्याएर स्वागत गरिरहेको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रका केन्द्रियस्तरका नेताहरू, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख नै एमालेमा प्रवेश गरिसकेको अवस्था छ । अहिले मदेशमा नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओली जहाँ–जहाँ जानुभयो, त्यहाँ मानव सागर उपस्थित हुने गरेको छ । प्रत्येक दिन हजारौंको सङ्‌ख्यामा एमालेमा मानिसहरू प्रवेश गरिरहेका छन् । देशभर ओलीको क्रेज बढेको छ । देशका प्रतिष्ठित कलाकार, उद्योगपति र विद्वानहरू एमालेको छातामुनि बसेर निःसर्त देशको सेवा गर्ने कसम धमाधम खाँदैछन् । एमालेले अघि सारेको प्रष्ट विचार, देश बनाउने ओलीको भिजन देखेर यो सबै भएको हो । एमालेले लिएको जनताको बहुदलीय जनवादी विचार, सुदृढ र अनुशासित सङ्‌गठनको कारण संभव भएको हो ।

देउवाको फेर समातेर जतिसुकै एमाले र के पी ओलीको विरोध गरे पनि प्रचण्ड र माधव नेपालको लोकपृयताको पारो निरन्तर घटेको घट्यै छ । उनका लोकपृयताका सबै परिसूचकहरू ऋणात्मक छन् । नेप्सेमाझैं राताम्य छन् । प्रचण्डलाई कुनैबेला राजनीतिका गडफादरु भन्ने सयौं नेता–कार्यकर्ता एमालेमा लर्को लागेर प्रवेश गरिरहेका छन् । हिजो भूलवस माधव नेपालको लहैलहैमा लागेका प्रायः सबै नेताकार्यकर्ता आफ्नो पुरानो गौरवशाली धर फर्किएका छन् ।

प्रचण्डको सबभन्दा ठूलो समस्या के रहेछ भने उनी जनतालाई हाकाहाकी ढाँट्ने रहेछन् । जननेता मदन भण्डारीले नेपाली धरातलीय यथार्थमा जनताको बहुदलीय जनवादी विचारमात्र कम्युनिष्ट क्रान्तिकारीहरूका लागि एकमात्र उपयुक्त विचार हो भनिसकेपछि त्यसको विरूद्धमा ‘माओवाद’ र ‘जनयुद्ध’ शब्द बोकेर जनतालाई बन्दुक बोकाए । बन्दुक नै देशका सबै समस्याको एकमात्र अचूक औषधी हो भनेर ढाँटे । उनले बोकेको गलत विचारबाट देश बाहिर आउन लामो समय लाग्यो । देशले ठूलो मूल्य चुकाउनुपर्‍यो । बन्दुकको शक्तिले होइन, नेपालको धरातलीय यथार्थमा आधारित वैचारिक शक्तिले मात्र देशको सामाजिक रूपान्तरण गर्न सकिन्छ र समाजवादमा पुग्न सकिन्छ भन्ने तथ्य स्थापित गर्न समय लाग्यो ।

एउटा सच्चा लोकतन्त्रवादी नेताले मात्र जनतालाई आफूसरह ठान्दछ र समान व्यवहार गर्दछ । आफूसरह जनतालाई यस्ता सफेद झुट बोल्न सक्दैन । तर प्रचण्डजस्ता ओठे लोकतन्त्रवादीलाई जनताप्रतिको उत्तरदायित्व महसुस गर्ने कुरै भएन । जनता भेडा हुन्, यिनलाई जसरी पनि अल्मल्याउन सकिन्छ भन्ने ठान्दछन् । एमसीसीमा उनले गरेको पछिल्लो झुटको खेती सबैले देखेकै छन् ।

एमाले भत्काउन देशीविदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा प्रचण्ड र माधव नेपालले जतिसुकै प्रयत्न गरे पनि स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा एमाले सिङ्‌गो रहन सफल भएको छ । र, पुच्छरवादी प्रचण्ड र माधव नेपाल क्रमशः ठिङ्गो बन्दै गएका छन् । उनीहरू कम्युनिष्ट आन्दोलनबाट भागेर पुच्छरवादी बन्दा आउने भयङ्‌कर परिणाम भोग्दैछन् ।

र , जनता भन्न थालेका छन्, एमाले त आयो आयो, गठबन्धनले हावा खायो !