२२ बैशाख २०८१, शनिबार 1714841437
Banner

देश समृद्ध र बलियो कसरी बन्छ ? उत्तर खोजौं

“राम्रो गुणस्तरीय शिक्षा सबल अर्थतन्त्र बनाउने बलियो आधार हो।”

“गुणस्तरीय शिक्षा विकासको उच्चतम रूप हो भने स्तरीय सार्वजनिक संस्था, सेवा र सुविधाहरू त्यसको मुख्य सूचक हो।”

माथिको भनाइहरूले देश समृद्ध र बलियो बन्ने आधार र सूचक देखाएको छ। ति आधार निर्माण गर्न राज्य र नागरिकहरूको लगानी बढ्नु पर्छ। राज्यले बुझ्नुपर्छ, जो नागरिक आफैमा मानसिक र आर्थिक रूपमा सबल हुन्छ, उसले देशको समृद्धिमा सकारात्मक योगदान गर्न सक्छ। अनिमात्र देश समृद्ध र बलियो बन्छ। अनि नागरिकहरूले बुझ्नुपर्छ, देश समृद्ध र बलियो बनाउन देशभित्रै आफ्ना क्षमताहरू उपयोग गर्ने मनस्थिति बनाउनु पर्छ।

विशेषत देश समृद्ध र बलियो बनाउन मुख्य आधार यस प्रकार छन्

· सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चितता

· नागरिकलाई देशभित्रै उत्पादन र सेवा क्षेत्रमा क्रियाशील हुने वातावरण बनाउनु पर्छ।

· नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीति त्याग्नुपर्छ।

· दातामुखी होइन देशमुखी नीति लिनुपर्छ।

· विचारबाट निर्देशित प्रगतिशील लोकतान्त्रिक राजनीतिक शक्तिलाई बलियो बनाएर

· बलियो र स्थिर सरकारबाट देश चलाएर

गुणस्तरीय शिक्षा समावेशी बनाउनु पर्छ। विद्यालय जाने उमेरका सबै बालबालिकाहरूलाई कुनै भेदभावबिना गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउनु राज्यको मुख्य दायित्व हो। किनभने शिक्षामा समावेशिता शैक्षिक रूपान्तरणको मुख्य सिद्धान्त हो। यसर्थ भेदभावबिना शैक्षिक गतिविधिहरू गर्न राज्यले लगानी बढाउनु पर्छ।

बाआमाको चेतना र विवेकले बुझ्न सक्नुपर्छ, “सन्तानमाथिको लगानी त्यागको भावले गर्नुपर्छ भने सन्तानहरूले बुझ्नुपर्छ, बाआमाको त्यागलाई सम्मान गर्दै उनीहरूको अपेक्षाहरूलाई सम्बोधन गर्न प्रत्यक्ष योगदान गर्न पनि सक्नुपर्छ। परदेशिने संस्कृतिमा रमाएर विप्रेषण पठाएर जिम्मेवारीबाट मुक्त हुने चिन्तन त्याग्नुपर्छ। राज्यले पनि नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीतिहरू त्यागेर देशमुखी नीति बनाउनु पर्छ।”

पहिले हामी सहस्राब्दी विकास लक्ष्य त अहिले दिगो विकासको लक्ष्यमा फसेका छौं। वास्तवमा यतिबेला हामी राष्ट्रिय विकासको लक्ष्यहरू तय गरेर अघि बढ्नु पर्छ। आयातित नारा र अनुदानको पछि लागेर अनि दातामुखी नीति अपनाएर देश समृद्ध बनाउन सकिदैन्। देश समृद्ध बनाउन हाम्रो आफ्नै नीति, आफ्नै पुँजी र आफ्नै श्रम र प्रविधिको प्रत्यक्ष योगदान हुनुपर्छ। बाह्य पुँजी र योगदानले समृद्धिमा सुरूवाती सहयोग गरेतापनि यसले समृद्धिको बलियो आधार बनाउन सक्दैन् र दिगो पनि हुँदैन्। अहिले नेपालमा भइरहेको पनि त्यही हो। जुन हामीले बुझ्नुपर्छ।

देश र परदेशमा बस्ने सच्चा नेपालीहरूले बुझ्नुपर्छ, विचारहिन राजनीति र चरित्रहिन पात्र र प्रवृत्तिहरूलाई अघि लगाएर नेपालको राजनीति देशमुखी र वैचारिक बन्दैन्। यस्तो राजनीतिले कतिबेला जेलेन्स्की वा हमित कारजाई पथ लिन्छ भन्नै सकिन्न। यतिबेला युक्रेन र अफगानिस्तानका जनताले पाएका दुःखबाट सिकेर प्रगतिशील लोकतान्त्रिक राजनीति बलियो बनाउने भूमिका निर्वाह गर्नुपर्छ नकि भ्रम, प्रलोभन र प्रभावमा परेर देशको भविष्य अन्धकार बनाउने काम गर्नु हुन्छ। तर हामीलाई भ्रममा पारेर भावनात्मक रूपमा भड्काएर गलत राजनीतिको पक्षमा उभ्याउन खोजिदैछ।

सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकियो भने नेपालमा मानसिक र आर्थिक गरिबी हट्न थाल्नेछ र नागरिक पलायनको संस्कृति कमजोर बन्नेछ। तर कम्फर्टेबलवादी र लोकप्रियतावादीहरू नेपालमा गरिबी कायम राख्ने राजनीति गरेर नेपाल समृद्ध र बलियो बन्न नदिने रणनीतिको सहयोगी बनिरहेका छन्। यो सत्य जनतासमक्ष पुर्याउन सकिएको छैन् किनभने हाम्रा प्राज्ञिकहरू देशको स्वार्थमा क्रियाशील हुन सकेनन् र गलत भाष्य स्थापित गर्ने मुख्य भूमिकामा देखिए। जबकि प्राज्ञिकहरू सत्य र प्रगतिको पक्षमा उभिएर नकारात्मकता हटाउन र समाजको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन मुख्य सहयोगी बन्न सक्नुपर्थ्यो।

“समृद्धि सिद्धान्तको मुख्य संरक्षक हो।” यो तथ्यलाई मध्यनजर गरेर प्रगतिशील लोकतान्त्रिक राजनीतिमार्फत देश समृद्ध र बलियो बनाउन खोज्नेहरूले आफ्ना गतिविधिहरू अघि बढाउनु पर्छ। आफ्नो आदर्शअनुरूपको आचरण देखाउन सक्नुपर्छ।