२३ बैशाख २०८१, आईतवार 1714929294
Banner

जनताको मनस्थिति सबै कुरा हो

देशको परिस्थिति सकारात्मक बनाउन र सर्वाङ्गीण विकास गर्न जनताको मनस्थितिले सधैं मुख्य भूमिका खेलेको हुन्छ। जनताको मनस्थिति कस्तो बनाउने भन्ने कुरो शिक्षा र शासन व्यवस्थाको चरित्रले निर्धारण गरिरहेको हुन्छ। शासन व्यवस्था र शिक्षाको चरित्र मिलेन भने आमजनताको मनस्थिति सकारात्मक बन्दैन् र देशको परिस्थिति अस्वभाविक रूपमा अस्थिर बनिरहन्छ। अहिले नेपालको परिस्थिति र हामी नेपालीको मनस्थिति नकारात्मक बन्नुमा शासन व्यवस्थाको चरित्र र शिक्षाको चरित्रले नमिल्नु नै हो। त्यसैले त आज जनता देशलाई सराप्दै पलायन संस्कृतिमा रमाएको छ भने देश विप्रेषणमा टिकेको छ।

२०६२÷२०६३ को जनआन्दोलनपछि बनेको राजनैतिक तथा संवैधानिक व्यवस्थाबाट जनतामा बढेको अपेक्षाहरू सम्बोधन गर्नेगरी शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन नगर्दा देशको अवस्था बदलिएन र जनअपेक्षाहरू सम्बोधन हुने परिस्थिति बनेन्। जसका कारणले जनतामा असन्तुष्टी र वितृष्णासँगै स्वछन्दता र अराजकता पनि बढ्यो। नयाँ पुस्ता त देशमा भन्दा परदेशमा सुख शान्ति मिल्छ र प्रगति हुन्छ भन्ने भ्रमबाट निर्देशित हुन पुग्यो। पछिल्लो समय जनतामा असन्तुष्टी र वितृष्णालाई आधार बनाएर लोकप्रियतावादीहरूले भ्रमको राजनीतिमार्फत परिस्थितिलाई अराजक बनाउँदै यो राजनैतिक तथा संवैधानिक व्यवस्था ठीक भएन भन्दैछन्।

यदि जनताको मनस्थिति सकारात्मक र स्वस्थ बनाउन सकिएको भए न जनतामा असन्तुष्टी र वितृष्णासँगै स्वछन्दता र अराजकता बढ्ने थियो न त पलायन संस्कृतिले नै प्राथमिकता पाउने थियो। आमजनताको दिमागलाई सही दिशामा लगाउन सकियो भने उनीहरूले आफ्नो जीवनमा सही लक्ष्य र गन्तव्य पत्ता लगाउन सक्छन् अन्यथा भ्रमित मनोविज्ञानका साथ आफूलाई अगाडि बढाउँछन् अनि सुख, शान्ति र प्रगतिको खोजीमा पीडित भइरहन्छन्। अहिले नेपालबाट विदेशिएका नेपालीहरू रूपमा रमाएको देखिएतापनि सारमा उनीहरू दुःखी नै भेटिन्छन किनभने परदेशमा उनीहरू आत्मिक रूपमा सन्तुष्ट छैनन्।

आज हामी समृद्धिको सार बुझ्न र बुझाउन नसकेर अलमलिएका छौं। देशको अवस्था बदलिएन भन्छौं तर अवस्था बदल्ने गरी देशभित्र कार्यशील हुनुभन्दा परदेशिन रमाउँछौं। राज्यले पनि विप्रेषणको जगमा समृद्धिको सपना बाँडिरहेको छ। जसका कारणले गर्दा एकातिर जनतामा असन्तुष्टी र वितृष्णा बढ्यो भने अर्कातिर देश उत्पादनशील जनशक्तिविहिन बन्दैछ। तैपनि हामी समस्याको निदानमा गम्भीर हुन सकिरहेका छैनौं। त्यसैले त हामी ‘टाउको दुखेको औषधी नाइटोमा लाई’ भन्ने पाराले समस्याको समाधान खोज्दैछौं।

आजको मुख्य समस्या राजनैतिक तथा संवैधानिक व्यवस्था नभएर हाम्रो नकारात्मक मनस्थिति अनि नकारात्मक मनस्थिति विकास गर्ने शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक नै हो। तर हाम्रा बौद्धिक जगत र विश्लेषकहरू भने राजनीतिलाई दोष दिएर अर्को अस्थिरताको चक्रव्यूहमा देशलाई फसाउन उद्दत देखिन्छन्। जसले गर्दा जनमनोविज्ञान दिग्भ्रमित हुने र गलत निष्कर्षमा पुग्ने परिस्थिति बनिरह्यो। आज देशमा देखिएको अराजकता र स्वछन्दता त्यसकै परिणाम हो।

त्यसैले हामीले बुझ्नुपर्छ र बुझाउनु पर्छ, जबसम्म जनता नकारात्मक मनोविज्ञानबाट निर्देशित भइरहने अनि राज्य पनि त्यही नकारात्मकताको जगमा चलिरहने वातावरण कायम रहन्छ तबसम्म देशको अवस्था सकारात्मक र जनता आसावादी हुने वातावरण बन्दैन्। यो क्रमको भङ्गताको लागि बौद्धिक जगत र विश्लेषकहरूले शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन गर्ने कोणबाट आफ्ना प्रभाव र क्षमताहरू उपयोग गर्नुपर्छ। राजनीतिक नेतृत्वमा शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा आमूल सुधार गर्ने इच्छाशक्ति र दृष्टिकोण हुनुपर्छ। अनिमात्र जनताको मनस्थिति र देशको परिस्थिति सकारात्मकउन्मुख हुन थाल्नेछ।

आज राज्यको शक्ति लोकतन्त्रलाई जनमुखी र देशमुखी बनाउन केन्द्रीत हुनुपर्छ। दाताहरूको दबाव र प्रभावमा परेर नीति बनाउने र कार्यक्रम तय गर्ने गलत अभ्यासलाई त्याग्नुपर्छ। देश र जनतालाई केन्द्रमा राखेर नीतिहरू बनाउने र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। विकास निर्माणका कामहरू गुणस्तरीय बनाउने र समय मै सम्पन्न गर्ने परिपाटी बसाल्नु पर्छ। यसका लागि प्राथमिकताका क्षेत्रहरू तय गरेर अघि बढ्नु पर्छ। गुणस्तरबिना दिगो विकास सम्भव छैन् भनेर बुझ्नुपर्छ।

अहिले नियमनको प्रयासबिनै टिकटक हठात बन्द गरे झैं पाराले न राज्यप्रति जनताको विश्वास बढ्छ न त जनता नै स्वअनुशासित बन्ने वातावरण बन्नेछ। राज्य सत्ता सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न पक्षहरूले बुझ्नुपर्छ, जनताको मनस्थिति सकारात्मक र रचनात्मक बनाउन नसक्दासम्म देशका समस्याहरू समाधान हुँदैनन्। यस सन्दर्भमा के। ओरिएन्टको विचार बढी सान्दर्भिक हुनसक्छ। उनी भन्छन्, “बौद्धिक मानसिकता भएका चुनौतीमात्र देख्दैनन्, चुनौतीहरूमा प्रगति गर्ने अवसरहरू पनि देख्छन्। जति धेरै चुनौती, त्यति नै धेरै अवसर ठान्छन्।”

माइकल हेन्सनले भनेका थिए, “जब हामी बौद्धिक र सकारात्मक मानसिकता भएका मान्छेहरूको वरपर हुन्छौं, यसले हामीलाई हाम्रा लक्ष्यतर्फ उन्मुख भएर काम गर्न प्रेरित गर्छ।” त्यसो भए हामीमा बौद्धिक र सकारात्मक मानसिकता कसरी विकास गर्नैरु यो प्रश्न आजको मुख्य प्रश्न बन्नुपर्छ। जनतामा सकारात्मक र स्वस्थ मानसिकताको विकास र कायम गर्ने धेरै उपायहरू छन्। हाम्रो सन्दर्भमा मुख्य उपायहरू भनेको शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन गर्दै राज्यप्रति जनविश्वास बढाउनु हो। जतनालाई देश मै हाम्रो प्रगति हुन्छ भनेर आशावादी बनाउनु हो। यस सवालमा राज्य चुकिरहेका छ। जसका कारणले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने नकारात्मक मनोविज्ञान हावी भइरह्यो।

भनिन्छ नि, “नकारात्मक मनोविज्ञानले कहिल्यै सकारात्मक परिणाम दिँदैन।” त्यसैले हामीले हाम्रो सोचलाई सकारात्मक र व्यवहारलाई रचनात्मक बनाउनु पर्नेछ अनिमात्र हाम्रा कामहरूले सकारात्मक परिणाम दिन थाल्नेछ। अन्तमा हामीले स्टीव माराबोलीको भनाईको सारलाई बुझ्नुपर्छ। माराबोली भन्छन्, हाम्रो मानसिकतामा सकारात्मक परिवर्तन भएपछि बाहिरका सबै कुराहरू पनि सकारात्मक परिवर्तन हुनेछन्। अब मौरीको साथ लागेर महसम्म पुग्ने कि झिंगाको पछि लागेर रछानमा निर्णय गर्ने बेला भएको छ।