१४ बैशाख २०८१, शुक्रबार 1714148706
Banner

विगतका सरकार भन्दा ओली सरकारले विकास निमार्णको काम गरेको होइन, स्रष्टा के भन्छौँ ?

प्रगतिशील लेखक संघ, नेपाल (स्था.२००९) आफ्नो संगठनको राष्ट्रिय सम्मेलन काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा यही चैत्र २५ र २६ गते सम्पन्न हुँदैछ । महान् साहित्यकार श्याम प्रसाद शर्मा संस्थापक अध्यक्षतामा स्थापित यो संघ, अनेक घुम्ती, मोड र आपसी मनमुटाव हुँदै बाम लेखकहरुको साझा संस्थाकै रुपमा क्रियाशील रहेको छ । प्रा.डा.जीवेन्द्र देव गिरीको अध्यक्षता प्रलेस निकट विगतका तुलनामा बहुआयामिक क्रियाशील रहेको देखियो । किनभने गाडीलाई सही गन्तव्यमा सकुशल पु¥याउन त ड्राइबरकै भूमिका हुन्छ र हुँदो रहेछ नि । तर यही कार्यकालको ड्राइबरले त्यो कुशलता देखाउनुमा र अवश्यै कारणहरु होलान् । गिरीले एक प्रसंगमा उल्लेख गरे अनुसार साझा संस्थामा साझा कुरालाई लिएर हिड्दा मात्र साझा सहमति बन्छ तर बाझा कुरा लिएर अध्यक्ष आफैँ हिड्छ भने संस्था तत्काल थलापर्छ । कामकाजी नेतृत्वले गर्न चाहँदा महत्वपूर्ण काम गर्न सक्तो रहेछ भन्ने डा. देवी दुलाल क्षेत्री अध्यक्ष रहेको प्रलेस, प्रदेश नं. १ ले देखायो नि । तर श्याम प्रसाद शर्माको निर्मित प्रतिमा वा शालिक स्थापना गर्ने स्थान उपलब्ध गराउने दृढ घोषणा र आश्वासन एमाले जनप्रतिनिधिको बहुमत भए पनि नपाउनु जस्तो दुःखद् कुरा के हुनसक्छ । यहाँ त अन्य क्षेत्रमा करोडौँ लगानी गरिन्छ तर समाजको गुणात्मक रुपान्तरण गर्ने कला, साहित्य, संगीत जस्ता क्षेत्रलाई सर्वथा उपेक्षा गरिन्छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ जस्ता संस्थासमेत यसको सिकार बनेका छन् । यस खालको चरम र सरम लाग्दो उपेक्षात्मक भोगाइ सर्जकहरुले व्यहार्दे आएका छन् । तर स्रष्टाहरु निराश भएर भने हुँदैन सूर्य झैँ आफैँ भित्रका र बाहिरका अन्धकार समाप्त पार्ने आँट र अठोट लिएर अगाडि बढ्नुपर्छ । यसो गरे मात्र आन्दोलनले सही बाटो लिन्छ ।

प्रलेसका एकाध वरिष्ठ लेखकहरु र स्रष्टाहरु साझा संस्थाको स्वरुप विपरीत हिड्दा समस्या उत्पन्न हुने गरेको देखिन्छ । यस्ता संस्थामा सिर्जना, सिद्धान्त र संगठनका साझा मूल्य मान्यता हुन्छ भन्ने पनि न बुझ्दा आपसी अन्तविरोध बढ्छ र चर्किन्छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भनेझैँ साथीको बात नसहने तर शत्रुका लात सहने र तिनकै टाङ्मुनि छिर्ने चरित्र र चिन्तन नै बाम आन्दोलन र लेखकीय संगठनलाई अस्तव्यस्त पार्ने कुरा हो । कतिपय अग्रज स्रष्टा नियोजित रुपमा सदासर्वदा सरकार र सत्ताका विपक्षी वा प्रतिपक्षी अथवा विरोधी हुन्छन् भन्ने भ्रम सिर्जना गर्न न्वारानदेखिको बल लगाउने गर्छन् । सत्य त तथ्य तर्क र प्रामाणिक आधारमा मात्र पुष्टि हुन्छ दवाव र प्रभावबाट कहिल्यै सत्य स्थापित हुँदैन । के द्वन्द्वात्मक भौतिकवादले यही सिकाएको छ ? यस्ता बहकाउमा लाग्न सुहाउँछ ? लेखक रचनात्मक आलोचक वा प्रतिपक्ष हुनुपर्छ बन्नुपर्छ ।

सरकारले देश र जनताका हितमा गरेका कामको पनि विरोधै गर्नु पर्छ ? तुलनात्मक रुपमा विगत सरकार भन्दा धेरै क्षेत्रमा धेरै विकास निर्माण र जनहितका काम ओली सरकारले गरेको होइन र ? तथ्य आफैँ बोल्छ । जनता यो सत्य आफैँ भन्छ ।

प्रगतिशील स्रष्टाहरुले गुण र गुणीको कदर गर्नुपर्छ । यो क्षेत्र सोझो सपाट राजनीतिक खेल र झेल गर्ने क्षेत्र होइन । अझ यो क्षेत्र त चारतिर फैलिएका र आपसमा अनावश्यक मनमुटाव राखिरहेका बाम दललाई समेत मिलेर पनि अघि बढ्न सकिन्छ है भन्ने सन्देश दिने संघ हो । कुरा बाझे पनि मान्छे बाझ्नु हुन्न भन्ने पुर्खाको महत्वपूर्ण सन्देश साकार पार्ने क्षेत्र हो ।

केपी शर्मा ओलीले भनेझैँ मित्रलाई मित्रको आँखाले हेर्नुपर्छ भन्ने पनि कतिपयमा होस देखिएन । संसद् विघटन सम्बन्धी मुद्दामा महामहिम राष्ट्रपतिलाई अनावश्यक आरोप सहित वक्तव्य जारी गर्न प्रलेसका वरिष्ठ लेखकको अगुवाइ दुराग्रहपूर्ण तथा लज्जाजनक रह्यो । एकता र संघर्ष र एकता मित्रशक्तिका बीच हुन्छ र संघर्ष, एकता र संघर्ष विरोधीका बीचको अन्तविरोधको माक्र्सवादी सार पक्ष हो । तर दार्शनिक दरिद्रताका कारण माक्र्सवादीलाई नै शत्रुवत् प्रहार गर्ने मनोरोग आफूलाई माक्र्सवादी र प्रगतिशील भनिनेहरुमा पर्याप्त पाइयो । पूर्व प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्न बाध्य बनाउनेहरु, उहाँको कदमलाई प्रतिगमन भनी सडक प्रदर्शन गर्नेहरु अहिले निर्दोष र निरपराध नेपाली नागरिक जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीका कारण महाकालीमा बगाएर मारिएका विषयलाई के भन्छौँ ? तालाचाबी लिएर बसेको गठबन्धन सरकार लाज सरमबिना आफैँ २४ लाख कोरोना खोप हरायो भन्छ तर चोर खोज्दैन अझ आफैँ भित्रको चौर प्रवृत्ति देख्दैन । महाकालीमा भारतीय सरकारले एकतर्फी पक्की बाँध बनाएर वर्खे भेलबाढी नेपाल तिर फर्काउने दुर्नियत वरिष्ठ लेखक देख्दैन । यसरी सामान्य विवेकलाई समेत बन्धक बनाउने लेखनबाट देश र जनताले के पाउँछन् । आफूलाई बाम पन्थी भन्नेहरुले काँध हालेको सरकारका प्रधानमन्त्रीले भर्खरै भारत भ्रमणका सन्दर्भमा नेपालको चुच्चे नक्सा बुच्चे बनाएर आए, यसलाई हामी स्रष्टा के भन्छौँ ? यो जस्तो राष्ट्रघाती कुरा अरु के हुन्छ ? के यो चाहिँ अग्रगामी काम र कदम हो ? यी सब कामले ओली सरकारलाई हटाएर भारतीय कम्फर्टेवल वा अनुकूल सरकार बनाउन खोजेको वास्तविकता त अहिले परिणामले पुष्टि ग¥यो नि । खुसी, खोकी, प्रेम र राजनीतिक षडयन्त्र धेरै दिन लुक्तैन । अनि जनादेशलाई लत्याउने र परमादेशबाट प्रधानमन्त्री बन्नु चाहिँ अग्रगमन हो ? माक्र्सवादी दृष्टिकोणबाट अर्थात् सापेक्षता,पूर्ण र अंश जस्ता मूल्याङ्कनका कुनै मापदण्ड हुँदैनन् र छैनन् ? एउटा बुद्धिजीवी र स्रष्टा सिद्धान्तलाई आधार मान्छ कि अमुक नेताको दौराको फेर समातेर आँखा चिम्लेर पछि लाग्छ ? यस्ता विसंगत कुरा भोगेपछि त चेत्नुपर्छ नि । एक पटक सीपी मैनालीलाई महान् ठान्दा झुक्किने त यही लेखक नै हो । अर्को पटक माधव नेपाल पनि ठिकै होलान् जस्तो त यही लेखकलाई लागेकै हो तर मानिस चिन्ह सजिलो रहेनछ । तीनवटा सन्तान भएर र छँदा खाँदाको स्वर्ग जस्तो घर परित्याग गरेर पोइल वा जोइल जाने आमा र बाबु पनि हुदा रहेछन् । २ महिना पछि हुने पार्टीको महाधिवेशन सम्म पर्खिने धैर्य नगर्ने नेपाल दाहाल कम्युनिस्ट आन्दोलनका रक्षक हुनसक्छन् ? यति अति सरल विषय पनि नबुझ्ने हो भने अनि के हुन्छ ?

प्रलेसले अब साहित्यिक र सांस्कृतिक आन्दोलनलाई गुणात्मक बनाउने हो भने नित्यकर्म सरह काम गरेर हुँदैन । औशी पूर्णे गोष्ठी गर्नु, देश र जनताका समसामियक ज्वलन्त समूस्यामा आधारित तथा जनचेतनामूलक सिर्जना भन्दा नितान्त निजी भँडास पोख्न सिर्जना गर्नु भनेको बिहान उठ्नु,शुचि गर्नु, नुहाइ धुबाइ गर्नु सरहका नित्य कर्म हुन् । यत्तिकै भरमा यति महान् संस्थाको गुणात्मक काम होइन ।

गुणात्मक काम गर्ने हो भने लेखकहरुले पहिले आफूभित्र रहेको तमाम पछौटे चिन्तन र चरित्रलाई पखाल्नु पर्छ । अति संकीर्ण चेत, चिन्तन र चरित्र हटाउनु पर्छ । सिरदेखि तीर सम्म कार्यकर्ताको मात्र पहिचानमा रमाएर हुन्न । यस्तो लेखकले स्रष्टा समाज र जनताको मन जित्न सक्तैन ।

विभिन्न बाम घटकका लेखकहरु कार्यनीतिक सबालमा मात्र भिन्न हो भने एकअर्कालाई शत्रुवत् प्रहार गर्नु हुन्न । अहिले त भिन्न धारका बाम स्रष्टासित बोल्दा र उनका लेख पढ्दा जातै जान्छ कि भनेझैँ गर्ने बाम लेखक पनि देखिन्छन् ।

सांस्कृतिक गुणात्मक रुपान्तरण गर्ने ध्येय राख्ने हो भने मानव जीवनका जन्मदेखिका मृत्युसम्मका संस्कारहरुमा पनि पुनरावलोकन गर्नु जरुरी हुन्छ, संस्कार र संस्कृतिको क्षेत्रमा विकल्प प्रदान गर्नु पर्छ । परम्परागत सबै संस्कारहरुमा समयानुकूल परिमार्जन जरुरी हुन्छ । यस लेखकले परम्परागत श्राद्ध, ब्रतबन्ध, क्रियाकाज र पुराणमा समय सापेक्ष परिमार्जन गरेको छ । वैदिक सनातन र आर्य समाजी लगायत बौद्ध,किराँत लगायत संस्कारका सन्दर्भमा अनेक विकल्प पाइन्छन् । तर ती सबै विकल्पहरु पण्डित समाजले र यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले उजागर गरेको पाइन्न ।

परम्परागत आर्थिक तथा व्यावहारिक जटिल संस्कारहरु मात्र प्रवाह गर्दा नयाँ पुस्तालाई ती संस्कारहरु खाए खा नखाए घिच् सरह हुन्छन् । संस्कार र संस्कृतिका जीवन र समाज उपयोगी पक्षहरु लोप हुने अवस्थामा पुग्छन् । अझ दिवंगतको स्मृतिका श्रद्धान्जली दिन जाँदा सभाकै रुप दिएर हाम्रा संस्कार विधिहरुको नालिबेली समाजमा जागरण पैदा हुन्थ्यो ।

सङ्घले विभिन्न विषयमा परिसंवाद कार्यक्रम सञ्चालन गरेको छ तर त्यस कार्यक्रममा विशेष गरेर प्रदेश नं. १ का अग्रज र विषय विज्ञ स्रष्टालाई सर्वथा उपेक्षा गरिएको छ । माक्र्सवादी सैद्धान्तिक विषयको परिसंवादमा स्रष्टा श्याम श्रेष्ठले विषयगत बेलिबिस्तार लगाए तर पार्टीगत संकीर्णताका कारण उनले जननेता मदन भण्डारी र जबजको नाम सम्म पनि लिएनन् र यसलाई पुरकप्रश्नका रुपमा कुनै सर्जकले विषयको उठान सम्म गरेनन् । जननेता मदन भण्डारीको अगुवाइ र जबजको मार्ग निर्देशन नभए नेपाली कम्युनिस्ट आन्दोलनको के हालत हुन्थ्यो भन्ने कुरा अवसरवादी र उग्रवादी तप्काका कथित कम्युनिस्टले अझै बुझेका छैनन् । पुष्पलालको नीति ३० वर्षपछि बुझ्ने माक्र्सवादी पुँगा पण्डितसित रिसाउनु हुँदैन । कार्लमाक्र्सले श्रमिक वर्गले आफ्नो आफैँले जितेर लिनु पर्छ भन्नु भएको थियो तर यसको मूल तात्पर्य तलबाट उठाएको, जगाएको र व्यापक जनमनलाई ब्यूझाएर गरिएको आन्दोलन बलशाली हुन्छ भन्ने थियो । यस खालको मात्र जग बलियो हुन्छ र यसले सफलता हासिल गर्छ भन्ने थियो । तर युद्धकालीन माक्र्सवादमा अधिनायकवादका नाममा सृजित माथिबाट थोपर्ने आन्दोलनलाई नीति जस्तो बनाइयो ।

माथिको ठाडो आदेश निर्देशमा आन्दोलन सञ्चालन गर्ने रुढ परिपाटी स्थापित गरियो, अर्थात् आन्दोलन र संघर्ष माथिबाट थोेपरियो । यही कारण ८० प्रतिशत भूभाग हाम्रा कब्जा भएका भनिएका भूभाग मानव विहीन होलान् तर जननेता मदन भण्डारी र जबजका प्रकाशमा भूमिगत कालदेखि निर्मित र विकसित कम्युनिष्ट आन्दोलनको जग अझै बलियो छ । मेची महाकाली मात्र होइन विदेशमा पनि फैलिँदो छ । अहिले पार्टी अध्यक्ष ओली र उहाँको प्रधानमन्त्रीत्व कालका अनेकौँ देश र जनता हितका कामका कारण एमाले मार्फत् कम्युनिस्ट पार्टी प्रति जनलहर समुद्र लहरमा परिणत हुँदो छ । तर काठमाडौँको यस बसाइमा विभिन्न एमाले मोर्चा संगठनमा केही पार्टी नेता र मोर्चाका अगुवाहरुको अवस्था हेर्दा यो लहर के कति जोगाउने र जगेर्ना गर्न सकिन्छ आशंङ्का उत्पन्न भएको छ । जनता सँगसँगै हिड्ने र अझ जनता भन्दा एक पाइलो अघि बढ्न सक्ने बहुआयामिक व्यक्तित्वको पार्टी र मोर्चा नेताले ओलीजस्तै दर्विलो मियो बन्न सक्छ ।

अहिलेको दार्शनिक प्रमुख चुनौति सामन्तवाद संरक्षित दर्शन हो । यो दर्शन, दृष्टिकोणको गम्भीर प्रभाव नेकपाका माथिल्लै तहका नेता र सर्जकमा व्याप्त देखिन्छ । साहित्य त मन धुने साबुन हो । कङ्क्रिटको जंगल बनाएर मात्र सुखी नेपाली र समृद्ध नेपाल हुँदैन । नेताले नै पनि प्रगतिशील तथा लोकतानित्रक देशभक्त कला, साहित्य र संस्कृति हजार बार पढेर मात्र मनको मैलो मनको सफा गर्न सकिन्छ भन्ने बुझ्नु जाती हुन्छ । यही देखेर मदन भण्डारीले पुरानो शासन व्यवस्थाका सबै शोषण उत्पीडन अन्त्य गर्ने अवधिलाई यत्ति खेर प्राथमिकतापूर्वक उल्लेख गर्नुभएको हो ।

मदनले भनेझै अवसर पाइ पाइकन पनि इमान्दार हुने हो भने र त्यस खालको ल्यागत र तागत राखेर निर्वाचन मार्फत् सरकार बनाएर जनहितका काम गर्नै पर्छ । भारतीय माक्र्सवादी लगायत कम्युनिस्ट पार्टीको कमरेड ज्योतिबसुको प्रधानमन्त्रीत्वमा सरकार बनाउने अवसरलाई चुकाउनु कुनै क्रान्तिकारिता होइन । आम श्रमिक जनताका लागि केही प्रभावशाली र मन छुने कार्यक्रम गरेको भए भारतको कम्युनिष्ट आन्दोलनको अहिलेको जस्तो हविगत हुने थिएन । उग्रवादी र अवसरवादी कम्युनिस्टले जति फुटानी गरे पनि एमालेको नौमहिने सरकारका लोकप्रिय कामका कारण कम्युनिस्ट विरुद्धका अनर्गल विषबमन गर्नेहरुको मुख बन्द गराएकै हो । त्यही विरासद्को एमाले पार्टी जनमनमा जरा गाढेर बसेको छ । प्रगतिशील वा कम्युनिस्ट नै हो भने अझ द्वन्द्ववादी हो प्राप्त अवसर देश जनताका हितमा भरपूर सदुपयोग गर्नुपर्छ । मित्र शक्ति हो भने त्यस अनुसार व्यवहार पनि गर्नुपर्छ । ओलीले मित्र शक्तिका नाताले सीपी मैनाली र चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री बनाउनु भयो । तर दुवैजना ओलीलाई शत्रुवत् कटाक्ष मात्र गर्छन् ।