२८ बैशाख २०८१, शुक्रबार 1715348773
Banner

अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं- अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको मद्दतले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकाल्दै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो ।

मुम्बइको वानखडे स्टेडियममा जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नुअघि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय अवस्थामा थियो ।

विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेल्दै म्याक्सवेलले कुल १ सय २८ बलको सामना गर्दै २१ चौका र १० छक्का प्रहार गरेका थिए ।

उनले कमिन्ससँग मिलेर आठौँ विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको आठ खेलबाट १२ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए ।

विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।

अब चौथो स्थानका लागि न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ ।