२३ बैशाख २०८१, आईतवार 1714931172
Banner

एमाले, समाजवादी यात्रा र तगारो हाल्ने प्रयास

पुराणमा एउटा कथा छ । राजा उत्तानापादका सुनीति र सुरूचि नामका दुई पत्नी थिए । सुनीतिको गर्भबाट ध्रुव र सुरूचिको गर्भबाट उत्तमको जन्म भएको थियो । राजा उत्तानापाद सुनीतिलाई बहुत हेला गर्दथे । सुरूचिलाई हदभन्दा बढी माया गर्दथे । एक दिन राजा उत्तानापादले सुरूचिको छोरा उत्तमलाई काखमा राखेर ख्वाइराखेका थिए । त्यही बेला अबोध ध्रुव पिताजीको काखमा बस्न चाहे । ध्रुव सौतेनी आमा सुरूचिको कोपभाजनमा परे । ध्रुवको एउटै गल्ती थियो(उनी सुरूचिको गर्भबाट जन्मेनन्, सुनीतिको गर्भबाट जन्मे । ध्रुव लखेटिए, उनी बन जानुपर्यो । अर्थात् सुरूचि (ऐश, आराम, कामवासना, स्वार्थ,सत्ता, अर्थ आदि) कै राजनीतिमा अहिलेसम्म रजगज छ । सुनीति (राम्रो विचार, सिध्दान्त, दर्शन आदि) इतिहासदेखि आजसम्म लखेटिनु परेको छ ।

नेकपा (एमाले) सही सिध्दान्त, विचार र नीतिमा चलेको पार्टी हुनाले पटप–पटक घेराबन्दी र लखेट्याँइमा पर्नु परेको छ । केही साता यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) विरूध्द विभिन्न किसिमका नक्कली आरोपहरूको बौछार गरिंदैछ । खासगरी एमालेका अध्यक्ष के पी ओलीका विरूध्द विभिन्न पात्र खडा गरेर कपोलकल्पित आरोप लगाइएका छन् । आफू प्रधानमन्त्री भएको बेला भारतले लामो समयदेखि मिचेको लिपुलेख, लिम्पियाधुरा र कालापानीको भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि मोदी नियन्त्रित भारतीय मिडियाले ओलीविरूध्द कपोलकल्पित आरोप लगाइएका थिए । ती आरोपहरू ओलीविरूध्द मात्र लक्षित थिएनन्,नेपाल र नेपाली सार्वभौमिकता र राष्ट्रिय अखण्डताविरूध्द लक्षित थिए । दशकौंदेखि कसैले गर्न नसकेको काम ओलीले सम्पन्न गरेपछि उहाँको उचाइ देशभित्रमात्र होइन, दक्षिण एसियामै चुलिएको थियो। भूगोल, सामरिक र आर्थिक शक्तिले उन्मत्त भारतीय संस्थापन पक्षसमेत ओलीको राजनीतिक क्षमता देखेर झस्किएको थियो एकातिर भने अर्कातिर भारतको अनुचित दबाव र प्रभावमा बस्न वाध्य दक्षिण एसियाका साना र कम शक्तिशाली राष्ट्रहरू यो कदमबाट खुसी भएका थिए ।

त्यही समयदेखि गोदी मिडियाले ओली र एमालेविरूध्द अनर्गल प्रचार गर्दै आएका छन् । नेपालमा कार्यरत भारतीय खुपिया एजेन्सीहरू,भारतीय लगानीमा सञ्चालित सञ्चार गृह र भारतीय हिन्दु अतिवादीको सहयोगमा नेपालको नेपालको सत्ता पलट गर्न उद्दत राजावादीहरूको एकोहोरो प्रहार एमाले र ओलीविरूध्द हुँदैआएको कहीं कतै छिपेको छैन ।

आफू प्रधानमन्त्री हुँदा के पी ओलीले देश र जनताको पक्षमा गरेका युगीन महत्वका कामबाट तर्सेका नेपाली कांग्रेसलगायतका राजनीतिक पार्टी एमालेविरूध्द गठबन्धन गरे । सत्तामा पुग्न सधै भारतको धूपध्वार गर्ने माधव नेपाललाई मोहोरा बनाएर एमाले चोइट्याउने काम भयो । यतिले नपुगेर एमालेविरूध्द अदालतको प्रयोग गरियो ।

भन्न परोइन, नेकपा (एमाले) आफ्नो जन्मकालदेखि नै ठूल्ठूला अग्नि परीक्षामा सफल हुँदै आएको पार्टी हो । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको अब्बल पहरेदार एमाले नेपाली समाजका योग्यतम मानिसहरूको नेतृत्वमा अगाडि बढिरहेको पार्टी हो । मार्क्सवादको सिर्जनात्मक प्रयोग र लेनिनवादको सिर्जनात्मक अवलम्बन गर्दै अगाडि बढेको पार्टी हो । जननेता मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद लागू गर्दै समाजवादको आधार निर्माणमा जुटेको पार्टी हो । नेपालका सबै राजनीतिक दलभन्दा ठूलो,व्यवस्थित र चलायमान सांगठानिक सञ्जाल भएको पार्टी हो । निस्सन्देह, एमालेविरोधीहरूको मुख्य टाउको दुखाइको विषय नै यही हो । एमाले वैचारिक,सैध्दान्तिक र सांगठानिक हिसाबले एमाले यति शक्तिशाली नभएको भए देशी विदेशी शक्ति र पात्रहरू संगठित रूपमा एमालेको विरूध्दमा लाग्ने थिएनन् ।

नेकपा (एमाले) विरूध्द अनर्गल प्रलाप गर्नु, शून्य प्रतिसत सत्यता भएका भ्रमको खेती गर्नु, दक्षिणपन्थी, प्रतिगामी र तिनका पुच्छर ‘कम्युनिष्ट’हरू मिलेर एमालेविरोधी स्यालको हुइँया मच्चाउनु उत्तानापादीय निरन्तरता शिवाय केही होइन । सच्चा कम्युनिष्टले लामो समयदेखि प्रमुख चुनौति आन्तरिक हुन्छ, वाह्य हुदैन भन्ने मान्दै आएका छन् । एमालेको नेतृत्वलाई निर्भिक, निष्कलङ्क र भिजनरी बनाइ राख्नु,एमालेको सिङ्गो पङ्क्ति एकताबध्द, सिध्दान्तनिष्ठ र जनसेवक बनाइ राख्नु तथा सत्तामा रहेको एमाले पङ्क्तिलाई ‘सुरूचि’ चरित्रबाट जोगाइ राख्नु एमालेको प्रमुख चुनौति हो । सिङ्गो एमाले पङ्क्तिलाई तीन ‘प’ अर्थात् पद, प्रतिष्ठा र पैसाको मोहबाट मुक्त राखी तीन ‘स’ अर्थात् सिध्दान्त, संघर्ष र समर्पणको बाटोमा डोहोर्याउनु अहिलेको प्रमुख आवश्यकता हो ।

सहरमा कुनै दिन शक्तिशाली हात्ती लमक–लमक लम्कियो बने सयौं कुकुरले एकै पटक भुक्छन् । तर हात्तीलाई कुनै फरक पर्दैन । त्यसै गरी एमाले आफ्नो सम्पूर्ण शक्तिका साथ समाजवाद निर्माणको यात्रामा लम्कियो भने दक्षिणपन्थी, अवसरवादी,प्रतिगामी र देशद्रोहीहरू एकैपटक भुके पनि कुनै फरक पर्ने वाला छेन ।

नेपालमा कम्युनिष्ट शक्ति मजबुत भएको हेर्न नचाहने साम्राज्यवादी शक्ति र देशलाई समाजवादी यात्रातर्फ लानबाट रोक्न चाहने देशभित्रका प्रतिगामी र दक्षिणपन्थी शक्ति नै जनताका वास्तविक बैरी हुन् । देशमा छरिएर रहेका क्रान्तिकारीहरूलाई गोलबन्द गरेर समाजवादी यात्रामा जनताको विजय गराउन देशमा शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यकता छ, जुन एकताबध्द एमालेबाट मात्र पूरा हुन्छ ।