४ जेष्ठ २०८१, शुक्रबार 1715968524
Banner

सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको हो ।

भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डको प्रतिनिधि सभाका सभामुखले गरेको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने ।

सभामुख घिमिरेले नेपाल र आयरल्यान्ड भौगोलिक रूपले टाढा भएता पनि कला, साहित्य, सङ्गीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे । ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरू छन् । लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरू हुन्,’ सभामुखको भनाइ थियो ।