४ जेष्ठ २०८१, शुक्रबार 1715951611
राजनीति

काठमाडौं महानगर अखिल नेपाल महिला संघको पहिलो सम्मेलन सुरु

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपा (एमाले) काठमाडौं महानगरपालिकाको जनसंठन अखिल नेपाल महिला संघको पहिलो सम्मेलन सुरु भएको छ । शुक्रबारबाट राष्ट्रियसभा गृहमा सो संगठनको प्रथम सम्मेलन सुरु भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोलले महिला र पुरुष सँगसँगै अघि बढे मात्र पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एमालेले देखेको ‘समृद्ध नेपाल सुखी नेपाल’ सपना पूरा हुने बताएकी छन् ।

महिला अघि बढ्नु भनेको पुरुषलाई पछि पार्नु नभएको बताउँदै उनले भनिन्,‘ हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले देखेको समृद्ध नेपाल सुखी नेपालीको नारा महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्यो र एकअर्कालाई साथ दियौँ भने मात्र बल्ल यथार्थमा बदलिन्छ ।’

युवा पुस्तालाई पनि सँगसँगै लिएर एकजुट भएर अघि बढ्ने हो भने नेकपा (एमाले)लाई अझ सशक्त बनाउन सकिने उनले बताइन् ।

यस्तै, काठमाडौं महानगरपालिका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले महिलाहरु गर्भदेखि चिहानसम्म अझै विभेदमा रहेको बताउँदै सोको अन्त्यका लागि महिला सशक्तीकरणको मुद्दा नेकपा एमालेले मूल मुद्दाको रुपमा उठाएको बताए ।
उनले भने, ‘ नेपालमा अझै बोक्सी लाग्दैछ, छाउपडी प्रथा अझै छ, सामन्तवादका धेरै अवशेष बाँकी छन् ।’

उनले नेकपा एमालेले गास, बास,शिक्षा र स्वास्थ्यमा सुधारका लागि आर्थिक, सामाजिक र सांकृतिक क्रान्तिमार्फत् समुन्नत नेपाल बनाउने बताए ।

अधिवेशनमा बाजाँगाजसहित महिलाको बाक्लो उपस्थिति थियो । साथै विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
झाँकी शान्तिबाटिका सुरु भएको ¥याली रत्नपार्क, बागबजार, पुतलीसडक, पद्यमोदय विद्यालय, प्रदर्शनमार्ग राष्ट्रिय सभागृहमा पुगेको थियो ।

र्यालीमा उपस्थित महिलाले ‘महिला हिंसा अन्त्य गर्’, छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गर्’, भ्रष्टचारीलाई कारबाही गर्’, संविधानलाई कार्यान्वयन गर’, बढ्दो महंगी नियन्त्रणजस्ता नारा तथा प्लेकार्ड प्रस्तुत गरेका थिए ।

काठमडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले अखिल नेपाल महिला संघले नेपालको राजनीतिक इतिहस परिवर्तनमा अहम भूमिका खेलेको बताउँदै एकै रथका दुई पांग्रा मानिने पुरुष र महिला सँगसँगै भए मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुने उनको भनाइ थियो ।

काठमाडौं महानगर इन्चार्ज तथा पूर्वमन्त्री आन्द पोखरेल, काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य, नेकपा केन्द्रीय सदस्य तथा पूर्वसांसद नारायण सिलवाल,काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थिति रहेको थियो ।

के हो अनेम संघ ?
महिला आन्दोलनको इतिहासमा र महिला अधिकारको पक्षमा अनेमसंघले आफ्नो स्थापना कालदेखि नै संघर्ष गर्दै आएको छ । २००८ सालमा स्थापना भएको अखिल नेपाल महिला संघले उठाउँदै आएका मुद्दाहरुलाई अझ संगठित रुपमा सूचीकृत गरेर अनेमसंघले महिला आन्दोलन अगुवाइ गर्दै आएको छ ।

२०५५ सालमा विराटनगरमा अखिल नेपाल महिला संघको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन भएको थियो । त्यही सम्मेलनले महिला हिंसाविरुद्ध र महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक अधिकारको सवाललाई सुत्रबद्ध गरी १४ बुँदे कार्यक्रम पारित गरेर आन्दोलनकै रुपमा अभियान रुपमा संचालन गरेको थियो ।

२०५५ सालमा संगठनको सम्मेलनले १४ बुँदे कार्यक्रम अघि बढाइसकेपछि २०५६–५७ सालमा मुलुकी ऐन ११औँ संसोधन भएको थियो । संसोधनका लागि अनेमसंघका तत्कालीन अध्यक्ष, वर्तमान सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको अगुवाइमा संसदमा मुलुकी ऐन ११ औँ संसोधन विभिन्न महलमा भएका महिलाको लागि विभेदकारी व्यवस्था हटाउन, भएका कानुनी व्यवस्था संशोधन गरी समान कानुन बनाउन पहल गरेको थियो ।

संघले पैतृक सम्पत्तिमा छोराछोरीको बराबरी हक कायम गर्ने कुरा, श्रीमान–श्रीमतीबीचमा भएका विभिन्न खालको विभेदकारी कानुनी व्यवस्था संशोधन गर्नेदेखि समान अधिकारको पक्षमा झण्डै २०–२२ वटा विभदेकारी व्यवस्थालाई परिवर्तनका महत्वपूर्ण काम गरेको थियो ।

अनेम संघले २०६२/६३ को जनआन्दोलनसम्म आइपुग्दा राजा ज्ञानेन्द्रले संसद विघटन गरेर शासनसत्ता हातमा लिने काम भएपछि निरकुंशताविरुद्ध लड्न सबै पार्टीका महिला संगठनहरुको ‘संयुक्त महिला संघ संघर्ष समिति’ बनाएको थियो । १९ दिने जनआन्दोलनमा संघले सक्रिय रुपमा भूमिका निर्वाह गरेको थियो ।