८ जेष्ठ २०८१, मंगलवार 1716337323
समाचार

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने बताए ।

प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउँदै मुख्यमन्त्री पाण्डेले पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोड दिए । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल जोड्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले पृथ्वीराजमार्गको सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा पनि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा आफूले निरन्तर प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताउँदै उनले यस सम्बन्धमा चाँडै नै सकारात्मक सङ्केत आउने विश्वास व्यक्त गरे । पर्यटकीय क्षेत्रमा राति पनि बजार खोल्ने सम्बन्धमा आफू सकारात्मक भएको बताउँदै उनले यस सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न सकिने भनाइ राखे ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले पर्यटनमा गुणस्तरीयतालाई जोड दिनुपर्ने बताए । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनामा समेटिनुपर्ने विषयलाई जानकारी गराउन उनले सबैसँग आग्रह गरे ।
आयोगले अनलाइनबाट सुझाव प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाएको बताउँदै उनले प्राप्त सुझावका आधारमा पटक–पटक छलफल गरी पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिइने उनको भनाइ छ । साहसिक पर्यटनको विकासका साथै सडक, बाटोघाटो तथा पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उहाँले बताए ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले दिगो पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

पर्यटन क्षेत्रमा जनशक्तिको अभाव समस्या रहेको बताउँदै उनले पोखरा आउने बाटोघाटोलगायतका कारण पनि यहाँको पर्यटन प्रभावित बनेको बताए ।