८ जेष्ठ २०८१, मंगलवार 1716316344
पालिका

जसपा नेतालाई पक्राउ गर्ने नगर प्रहरीलाई नगरले हटायो जिम्मेवारीबाट

काठमाडौं । विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ ।

नगरले एक विज्ञप्ति जारी गरी जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको जानकारी गराएको हो ।

‘विराटनगर महानगरपालिका प्रमुखज्यूको अध्यक्षतामा जसपाका केन्द्रीय सदस्यसहितको प्रतिनिधिमण्डलको उपस्थीतिमा भएको छलफलको निर्णयबाट महानगरप्रमुखज्यूलाई छानविन गरी आवश्यक कारवाही गर्ने अख्तीयारी दिएको आधारमा नगरप्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवानहरु विक्रम श्रेष्ठ र बब्लु केशरीलाई आजकै मितिबाट लागु हुनेगरी नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ नगरप्रमुख नागेश कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विराटनगर अस्पताल चोकमा पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच ठेलामठेल भएको थियो । त्यसपछि पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट कठालोमा समातेर वडा प्रहरी कार्यालय विराटनगरमा पुर्याएको थियो ।

नगर प्रहरीले कठालोमा समातेर लछारपछार पार्दै ल्याएको भिडियो सार्वजनिक भएपछि जसपा कार्यकर्ताले आन्दोलन गरेका थिए । आन्दोलनपछि नगरप्रमुख नागेश कोइरालाले नगरप्रहरीलाई नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाएका हुन् ।

भदौं २७ गते बेलुका नगरप्रहरीले जसपा नेतालाई लछारपछार पार्दै प्रहरी कार्यालय पुर्याएका थिए । लगतै मेयर नागेश कोइरालासँगको छलफपछि घटना साम्य भएको थियो । तर लछारपछार पारेको भिडियो सार्वजनिक भएपछि जसपाले प्रदर्शन गरेको थियो । जसपाले प्रदर्शनपछि महानगरपालिकामा भदौं ३१ गते महानगर प्रमुख र जसपा नेताबीच छानविन गरी कारवाही गर्ने सहमति भएको थियो ।