२३ बैशाख २०८१, आईतवार 1714893199
अपराध

रुपन्देहीमा निर्माण व्यवसायी खत्रीमाथि दिउँसै खुकुरी प्रहार

रुपन्देही । बुटवल–११ कालिकापथको होराइजन चोक नजिकै निर्माण व्यवसायी निर्मल खत्रीमाथि खुकुरी तथा ढुंगा मुढा प्रहार भएको छ । खुकुरी तथा ढुंगामुडा प्रहारबाट उनको टाउकोमा ६० वटा टाँका लगाइएको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही युवालाई पक्राउ गरे पनि सबै पक्राउ परेका छैनन्। कालिकापथमा बुटवल उपमहानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने बताइरहेको छ। अहिले पनि कालिकापथमा खासगरी रात्रिकालीन व्यवसाय गर्छन्। उनीमाथि दिउँसै सडकमा खुलमखुला खुकुरी प्रहार भएको छ ।

रात्रिकालीन बजार चलेकै अवस्थामा युवाबीच हानाहान भइरहेको कालिकापथमा दिउँसो पनि युवा समूहले खुकुरी प्रहार गरेका थिए ।

कुटपिटमा परेका खत्री कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीका छोरा हुन्। यो विवाद कालोपत्रे गर्न ठिक्क पारेको सडकमा ट्रक लैजाने क्रमबाट सुरु भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबीले बिहीबार साँझ निर्माणाधीन कालिकापथअन्तर्गत बुटवल ११ योगीकुटी नजिकै सडक पिच गर्न प्राइमर (कालोपत्रे)लगाएर राखेको अवस्थामा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किएको निहुँमा झगडा सुरु भएको थियो ।

सामान्य विवादले उग्र रूप लिएपछि खत्रीमाथि ३ युवा जाइलागेका थिए। इलाका प्रहरी कार्यालयका अनुसार खत्रीलाई आक्रमण गरेको आरोपमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले खत्रीमाथि आक्रमण गर्ने अन्य घटनापछि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताए।