२३ बैशाख २०८१, आईतवार 1714950808
पालिका

दुई महिना नपुग्दै आफ्नै निर्णय उल्ट्याए बालेनले

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले दुई महिना नपुग्दै आफ्नै निर्णय उल्ट्याएका छन् ।

२०८०/०२/३१ को निर्णयअनुसार सम्पदा सल्लाहकारमा नियुक्त सम्पदा अभियान्ता यादवलाल कायस्थलाई हटाएर मेयर बालेनले दुई महिना नपुग्दै आफ्नो निर्णय उल्ट्याएका हुन् ।

यद्यपि मेयर बालेन शाहले दुई महिना नपुग्दै उनलाई सल्लाहकार पदबाट निकालिनुको कारण भने खुलाएका छैनन् ।
कायस्थले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत वसन्त अधिकारीले आफूलाई फोन गरी सो पदमा नरहेको जानकारी गराएको र मनोनयनपत्र र परिचयपत्र फिर्ता गर्न दबाब दिएको बताए ।

‘काठमाडौं महागरपालिकाका कार्यकारी अधिकृत वसन्त अधिकारीले मलाई फोन गरी म कामनपाको सल्लाहकार नरहेको र मेरो मनोनयनपत्र र परिचयपत्र फिर्ता गर्न दबाब दिए, आखिर किन ? तपाईंहरुलाई थाहा छ ?’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

उनले आफूमाथि हुँदै नभएको आरोप लगाएको बताएका छन् ।

‘वडाध्यक्षहरुले मेरो विरोध गरे रे गम्भीरतापूर्वक लिए रे, बैठक नै चल्न दिएनन रे । मैले के नै पाएको छु र, अचम्म । हास्ने कि रुने,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सिर्फ एउटा परिचयपत्र र मनोनयनपत्र पाएको थिएँ । त्यो पनि फिर्ता देऊ रे ।’