४ जेष्ठ २०८१, शुक्रबार 1715945455
Banner

साताको पहिलो दिन सेयरबजार हरियाली

काठमाडौँ । साताको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ ।

साउन महिनाका लागि बैंकको ब्याजदर परिवर्तन भएसँगै यसको प्रभाव सेयर बजारमा हरियाली देखिएको हो । साउन १ अर्थात् सोमबारदेखि बैंकहरुले खुल्ला बजारको नीति अनुरुप निक्षेपको ब्याजदर ६.४९ प्रतिशतदेखि १०.९८ प्रतिशतसम्म तोकेका छन् ।

योसँगै यता कर्जाको ब्याजदर समेत केहीँ घट्ने देखिएको छ । यसले लगानीकर्ताहरु उत्साहित भएका हुन् ।

सोमबार सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढ्दै २१ सय ४४.१६ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो दिने यस्तो सूचक १२ अंकले बढेको थियो ।
आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.१४ प्रतिशतले बढ्दैगर्दा आज म्युचुअल फन्ड समूहको उपसूचक ०.४९ प्रतिशतले मात्र घट्न पुगेको छ ।

बीपीडब्लू लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी धनवृद्धि योजना फन्डको सेयर मूल्य ८।३७ प्रतिशतले घट्न पुगेको छ ।

Tags :