१४ बैशाख २०८१, शुक्रबार 1714162014
Banner

महोत्तरीका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश

काठमाडौं । महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । आज बिहान बालकोटमा अध्यक्ष ओली खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख समेत छन् । उहाँ नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको छ । सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादव, लोसपाकै महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत रहेको एमालेले जनाएको छ ।