१४ बैशाख २०८१, शुक्रबार 1714144390
अपराध

श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं – काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको लाहान नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।

राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई आगो लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।

मन्त्री निवास हरिहरभवनमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले घटना थाहा पाएपछि महानगरीय प्रहरी प्रभाग कपनको टोलीले स्थानीयबासीको सहयोगमा ढोका फोडेर महिलाको उद्दार गरेको थियो ।

घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । शरीरको विभिन्न भाग जलेको उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घाइतेका श्रीमान प्रवीण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।