४ जेष्ठ २०८१, शुक्रबार 1715961292
अर्थ

पूर्वमा बाढीले १९ जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ । यही असार १ र २ गते पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार ताप्लेजुङ, पाँचथर र संखुवासभाका आयोजनामा क्षति पुगेको हो।

बाढीका कारण त्यसक्षेत्रका हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका १९ जलविद्युत आयोजनाहरुमा गम्भीर क्षति पुगेको छ। बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र माया खोला नदी बेसिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट र सुपर हेवा खोला ५ मेगावाटमा क्षति पुगेको छ।

यस्तै, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ३ मेगावाट, पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ०.९ मेगावाट, माया खोला १४.९ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुगेको छ। सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन्। अहिलेसम्म ४ जना मृत फेला परेका छन्।

त्यसैगरी ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेसिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला ९.७ मेगावाट, इवा खोला ९ मेगावाट, काबेली बी ९१.२५ मेगावाट, काबेली बी ९१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १४.९ मेगावाट, हेवा खोला ५ मेगावाटमा समेत क्षति पुगेको छ।

यस्तै, लोअर हेवा खोला २२.१ मेगावाट, सुपर काबेली क्यासकेड १२ मेगावाट, काबेली २१.९३ मेगावाट, सुपर काबेली खोला ए १३.५ मेगावाटका आयोजनामा बाढीले क्षति पुगेको छ। क्षति भएका आयोजनाहरुको पुनःनिर्माण कार्य गरी पुरानै अवस्थामा फर्काउन कम्तिमा पनि १ वर्ष समय लाग्ने देखिएकाले ऋणको समयावधि समेत थप्न इप्पानले माग गरेको छ।