१६ बैशाख २०८१, आईतवार 1714339242
Banner

मन्त्रालय भागबण्डाको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलको बैठक आज बस्दै छ। आजको बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ।मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो। शीर्ष तीन नेताको भेटमा आज अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

मन्त्रिपरिषद् विस्तार गरिने भनिए पनि दलहरुबीच सहमति हुन सकेको छैन। कांग्रेसले अर्थसहित आठ मन्त्रालयमा दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनु पर्ने अडान लिँदै आएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन्।

चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।