१४ बैशाख २०८१, शुक्रबार 1714154741
Banner

स्थानीय निर्वाचनः परमादेश विरूद्ध जनादेश स्थापित गर्ने अवसर

पुष्कर कडेल, चितवन

माझण्ड (माधव,झलनाथ, प्रचण्ड) हरुले नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन र जनादेश खण्डित गरेर परमादेशमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि जुन खालको राजनीति गरे त्यो कुनै पनि कोणबाट क्षम्य हुने प्रकृतिको छैन्। जनादेश खण्डित गरेवापत माझण्डहरूसँगै नेपाली कांग्रेसलाई पनि जनताले दण्डित गर्नैपर्छ। समयक्रममा परमादेश दिने न्यायधीशहरू पनि दण्डित हुनेछन्।

प्रचण्डको उपयोगितावाद र अवसरवाद, माधव नेपालको कुण्ठा र ईर्ष्या अनि शेरबहादुर देउवाको उदारवाद बीचको सहकार्यले जनादेश खण्डित गर्ने प्रयासलाई सर्वोच्च अदालतको परमादेशले सहयोग गरेको थियो। यो वास्तविकता लुकाएर लुक्ने अवस्था छैन्। जनादेश जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अपेक्षाकृत सामर्थ्य देखाउन नसक्दा परमादेशमार्फत जनादेश खण्डित हुने अवस्था बन्यो। अब परमादेशवादीहरूलाई पराजित गरेर जनादेश पुनः स्थापित गर्न स्थानीय चुनावलाई अवसरको रूपमा सदुपयोग गर्नुपर्छ।

यतिखेर माझण्डहरू आफू जित्नका लागि होइन नेपाली कांग्रेसलाई चुनाव जिताउन चुनावी गठबन्धन बनाउने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गएको हप्ता बिरगञ्जमा दिएको अभिव्यक्ति “अहिले गठबन्धनको सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो नेतृत्वमा गठबन्धनको सरकार रहिरहन सक्छ।” प्रम देउवाको यो भनाईले चुनावमा एक्ला–एक्लै जाने होभने एमालेलाई हराउन सकिन्न भन्ने आसय देखाउँछ। त्यस्तै माझण्डरू पनि चुनावी गठबन्धनविना चुनाव जित्न सकिदैन् भन्ने निष्कर्षका साथ प्रम देउवालाई चुनावी गठबन्धन बनाऔं भन्दैछन्।

फेरि प्रम देउवालाई लागेको छ, यदि गठबन्धन बनाउँदिन भन्योभने माझण्डहरू एमालेसँग मिलेर कांग्रेसलाई २०७४ को चुनावमा झैं हराउन सक्छन् भन्ने त्रास छ जबकि गगन थापाहरू कांग्रेसलाई बलियो बनाउन एक्लै चुनावमा जानुपर्छ भन्दैछन्। यसबाट स्पष्ट हुन्छ, परमादेशबाट सरकार चलाउनेहरू द्वैध मानसिकता छन्।

जनादेश पक्षधर राजनीतिक नेतृत्वहरूले हिजोको आफ्ना कमजोरीबाट सिकेर आगामी चुनावी रणनीति बनाउनु पर्छ। चुनावी रणनीति बनाउँदै गर्दा जनादेशको पक्षमा वकालत गर्ने एमालेका नेताहरूले विगतका आफ्ना कमजोरीलाई लिएर जनतासँग माफी माग्नुपर्छ। यतिखेर नेकपा एमालेले आगामी चुनावहरू जित्नका लागि पाँच दलीय गठबन्धनलाई मात्र होइन तिनका स्वार्थमा चलेका मिडियाहरूलाई पनि पराजित गर्नु पर्नेछ। किनभने ति मिडियाहरू परमादेशवादीका पक्षमा परिचालित भइरहेका छन्। यसर्थ एमालेका नेता तथा कार्यकर्ताहरूले सुझबुझका साथ एकजुट भएर ठीक उम्मेदवार चयन गर्नेदेखि लिएर देशमुखी घोषणापत्र तयार गरेर पार्टीको पक्षमा जनसमर्थन जुटाउन योगदान गर्नुपर्ने भएको छ।

उम्मेदवार वैचारिक रूपमा प्रतिवद्ध, स्थानीय स्तरमा लोकप्रिय र त्यो क्षेत्रको दिगो विकासमा शैक्षिक, आर्थिक र प्रशासनिक क्षेत्रको भूमिकासँगै जनसहभागिताको आवश्यकता अनि भाषिक तथा सांस्कृतिक विविधता हाम्रो सम्वृद्धिको आधार हो भनेर ती उम्मेदवारहरूले बुझेको हुनुपर्छ। भोलि आफू निर्वाचित भएपछि सुशासन कसरी सुनिश्चित गर्ने भनेर उसँग ठोस योजना पनि हुनुपर्छ। प्रभाव, दबाव, नातवाद, धनवाद र डनवादको जगमा उम्मेदवार चयन हुन नदिन पार्टीका नेता तथा कार्यकर्ताहरूले खबरदारी गर्नुपर्छ।

चुनाव जित्न र जनताको सेवा गरेर पार्टीको साख जोगाउँदै देशको दिगो विकासमा योगदान गर्न सक्ने उम्मेदवार चयन गर्नका लागि कार्यकर्ताहरूले आफ्नो भूमिका खोज्नुपर्छ नकि आफ्नो स्वार्थमा केन्द्रीत भएर अवसर खोज्ने। सच्चा वामपन्थी नेता तथा कार्यकर्ताहरूले दक्षिणपन्थी नेपाली कांग्रेसलाई माझण्डहरूले झैं बलियो बनाउन चाहँदैनन्। माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीमा क्रियाशील भएर आफ्नो राजनीतिक भविष्य सुन्दर बनाउन चाहने नेता तथा कार्यकर्ताहरूले यतिखेर माझण्डहरूको नियत र व्यवहार चिन्न सक्नुपर्छ। आज समयले त्यो अवसर दिएको छ।