१३ बैशाख २०८१, बिहीबार 1714092300
Banner

छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न माग

विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ सङ्गठन र दलित सङ्घ÷संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारवाही गर्न माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घ/संस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानविन गरी घटनामा सङ्लग्न निजलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गर्न माग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औँ दिनको पुन्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘कृया भोजमा’ दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घ/सङ्गठनको भनाइ छ । “सार्वजनिक पदधारण गरका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागतरुपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ/सङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् । ती सङ्घ/संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् ।