२२ बैशाख २०८१, शनिबार 1714868425
समाचार

‘कोशी’ प्रदेशको नामाकरण बिखण्डनको बिउका रूपमा अंकुराउन सक्छ : फोनिज

काठमाडौं । आदिवासी जनताति पत्रकार महासंघ (फोनिज)ले प्रदेश १ को नामारण ‘कोशी’ले कालन्तरमा बिखण्डन ल्याउने चेतावनी दिएको छ । फोनिजको संघीय समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशले प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुबीचको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने जनाएको छ ।

‘कोशी नदीलाई कुनै पहिचान चाहिएको होइन। पहिचानको प्रदेश माग्ने समुदाय, राजनीतिक समूह र सरोकारवालाहरूसँग कुनै परामर्शसमेत नगरी मतादेशको दम्भमा जारी गरिएको यो कालान्तरमा बिखण्डनको बिउका रूपमा अंकुराउन सक्छ भन्ने हाम्रो गम्भीर आशंका हो।’ विज्ञप्तिमा भनिएको छ ।

सभ्यता, संस्कृति, जातीय पहिचान र राजनीतिक ऐतिहासिकता आदिले अत्यन्त संवेदनशील नम्बर १ को नामाकरण संघीयताको मर्मविपरीत र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी’ कायम गरिएको प्रति समेत (फोनिज)को गम्भीर ध्याना भएको जनाएको छ ।

किरता सभ्यताको विरात र लिम्बुवानको गर्विलो इतिहास भएको यो प्रदेश कोच सभ्यता र हिमाली संस्कृतिसहितको शेर्पा पहिचानको थलो पनि हो। फोनिजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो प्रदेश किरात सभ्यताको विरासत हो भने लिम्बुवानको ऐतिहासिक राजनीतिक पृष्ठभूमिसहित गर्विलो इतिहासको निरन्तरता हो। त्यसैगरी यो प्रदेश कोच सभ्यता र हिमाली संस्कृतिसहितको शेर्पा पहिचानको थलो पनि हो।’

‘प्रदेशका आम जनताको भावना र चाहनाविपरीत र खासगरी रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार गरेर जुन रवैयाका साथ कोशी प्रदेश नामाकरण गरिएको छ, फोनिज संघीय समिति यस कदमको घोर निन्दा र भर्त्सना गर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।

फोनिजले बारम्बार प्रदेश नम्बर १ को नामाकरण सभ्यता, पहिचान र ऐतिहासिक निरन्तरताका आधार किरात लिम्बुवान वा लिम्बुवान किरात हुनु पर्दछ भनेर माग गर्दै आएको छ ।

पहिचान प्राप्तिका लागि हुने र गरिने शान्तिपूर्ण आन्दोलनहरूमा फोनिजको सदा ऐक्यबद्धता रहँदै आएको हुँदा कोशी प्रदेश खारेजी र पहिचानका आधारमा प्रदेश नम्बर १ को पुनः नामाकरणका लागि भइरहेक शान्तिपूर्ण आन्दोलनहरूमा फोनिजले समर्थन गरेको छ ।