१४ बैशाख २०८१, शुक्रबार 1714121884
Banner

दुई नाबालकसहित एक महिला गण्डक नहरमा बेपत्ता

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता हुनुभएको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात छ । आज दिउँसो करिब २ बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार प्रहरीचौकी कुडिया, इलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ ।

हाम फालेर बेपत्ता भएकी महिलाका श्रीमान् हाल रोजगारीका सिलसिलामा भारतमा रहनुभएको छ । घरमा सासूसँगै बस्दै आउनुभएकी प्रतिमाले नहरमा हामफाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताउनुभयो ।