१३ बैशाख २०८१, बिहीबार 1714104430
Banner

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने जानकारी गराएको हो। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृत पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर दुईटा मतदान केन्द्र रहेका छन्।

राष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन्। राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ।

दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन्।

तर नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ भने उम्मेदवार टुंग्याएको छैन। नेकपा एमालेले पनि गत पुस १० को सहमतिअनुसार राष्ट्रपति सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एमालेबाट उठाइने उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको छ ।