२४ बैशाख २०८१, सोमबार 1714998486
राजनीति

कांग्रेस राष्ट्रपति, साढे २ वर्षपछि एमाले प्रधानमन्त्री : वाइसीएल इञ्चार्ज सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा वाइसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले राष्ट्रपति दिएर कांग्रेसलाई सत्ता साझेदार बनाउनुपर्ने बताएका छन् । उनले मध्यावधि चुनाव खर्च जोगाउनका लागि समेत कांग्रेसलाई सत्ता साझेदार बनाउनुपर्ने बताएका हुन् ।

एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेको बेलामा सापकोटाले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्छ । मुलुकलाई मध्यावधि चुनावको खर्चभारबाट जोगाउने हो भने नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्छ ।’

उनले जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्ने बताएका छन्। कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमालेबाट सभामुख भएपछि मात्रै मुलुक बच्ने उनको भनाइ छ।

‘अहिले कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमालेबाट सभामुख । २.५ वर्षपछि एमालेबाट प्रधानमन्त्री माओवादीबाट सभामुख हुँदा मात्रै सत्ता अस्थिरताबाट मुलुक बच्छ। हामीले हामी सबै पार्टीको नेतृत्व र प्रवृति चिनेका बुझेका छौं। यसको सबैभन्दा ठुलो सहजकर्ता एमाले बन्नुपर्छ।’

उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डप्रति कांग्रेससहित सबै दलले देखाएको सहमतीय सद्भावप्रति उत्तरदायित्व यसैगरी पुरा हुने बताए। मुलुकको विशिष्ठ अवस्थामा प्रतिपक्षीय भुमिका नागरिक समाज, आम नागरिक र राज्यको चौथो अंग मिडियालाई छोडे केही नबिग्रने उनको भनाइ छ।