१४ बैशाख २०८१, शुक्रबार 1714156155
Banner

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु, यी हुन सातै प्रदेशका फिल्ड कमाण्डर

काठमाडौं । नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गर्दैछ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सात प्रदेश र बिदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ ।

एमाले अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।

गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

कुन प्रदेशमा को ?
प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २ महिने अभियानको अनुगमन गर्दा फिल्ड कमाण्डरका रुपमा सचिव टोपबहादुर रायमाझी तोकिएका छन् । त्यस्तै मधेस प्रदेशको अनुगमन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने सचिव रघुवीर महासेठ फिल्ड कमाण्डर हुनेछन् ।

वागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले अनुगमन र सचिव गोकर्ण विष्टले फिल्ड कमाण्ड गर्दा गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवाली अनुगमनमा खटिएका छन् भने सचिव पद्मा अर्याल फिल्ड कमाण्डर तोकिएकी छन् ।

त्यस्तै लुम्बिनीमा अनुगमनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् भने सचिव छविलाल विश्वकर्मा फिल्ड कमाण्डर तोकिएका छन् । कर्णालीमा उपाध्यक्ष सुवास नेम्वाङ अनुगमन र सचिव योगेश भट्टराई फिल्ड कमाण्डर तोकिएका छन् ।

सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल अनुगमन र सचिव लेखराज भट्ट फिल्ड कमाण्डर तोकिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।