१४ बैशाख २०८१, शुक्रबार 1714152495
पालिका

सूर्यविनायक नगरपालिकामा तिब्र बन्दै भौतिक विकास, वैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य

भक्तपुर । सूर्यविनायक नगरपालिकामा भौतिक विकास निर्माणको काम तिब्र बन्दै गएको छ । चालु आर्थिक वर्षका लागि विनियोजित सबै योजनाको काम आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी हाल भौतिक पूर्वाधार निर्माणको कामले तिब्रता पाएको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।

वर्षातको समय अगाडि नै नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजना गरेका योजना वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको सूर्यविनायक नगरपालिका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “लक्ष्यमा पुग्नका लागि अहिले धमाधम भौतिक पूर्वाधार निर्माण काम भइरहेका छन् ।”

उहाँका अनुसार हालसम्म ७१ वटा योजना सम्पन्न गरिसकेको छ । यस वर्ष गर्नुपर्ने कुल २९१ वटा योजना मध्ये अहिलेसम्म ७१ वटा योजना सम्पन्न भएको बाँकी योजना सम्पन्न हुने चरणमा रहेका छन् । अहिलेसम्म योजना सम्झौता भइ कार्यान्वयन भएका योजनाको संख्या १०५, योजना सम्झौता हुने क्रममा रहेका १२५ र २० वटा योजना लक्षित वर्गका रहेका ति पनि कार्यान्वयनकै चरणमा रहेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।

उहाँले थप्नुभयो “माघ १८ गते सम्पन्न सुर्यविनायक नगरपालिकाको १३ औं अधिवेशनमा प्रस्तुत तथ्याङ्क अनुसार उक्त भौतिक प्रगति भएको र अहिले कतिपय योजना सम्पन्न भइ थपिएका छन् भने योजना सम्झौता हुने क्रम पनि बढ्दो रहेको छ ।” संघीय सरकारले पनि यस अगाडि नै सबै स्थानीय तहलाई परिपत्र गरी वर्षातको समय अगाडि नै स्थानीय तहले चालु आर्थिक वर्षका लागि विनियोजन गरेका योजना सम्पन्न गर्न स्थानीय तहलाई आग्रह गरिसकेको छ ।

सूर्यविनायक नगरपालिकाले सोही अनुसार योजना कार्यान्वयन गर्दै आएको नगरपालिका प्रमुख बासुदेव थापाले बताउनुभयो ।