१९ बैशाख २०८१, बुधबार 1714575903
Banner

अब कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ : विजयकुमार गच्छदार

विराटनगर । कांग्रेस नेता विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरताका लागि अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट एमालेकी भगवती चौधरीसँग प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएका गच्छदारले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी राजनीतिक स्थिरताको लागि अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका हुन्।

‘हालै सम्पन्न निर्वाचनले तेस्रो ठूलो दल भएको माओवादीलाई प्रतिपक्षमा राखेर कांग्रेस र एमालेले साना दलहरुलाई समेटेर सरकारमा जानुपर्छ’ उनले भने ‘निर्वाचनमा कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु ।’

अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने बताउँदै उनले भने ‘काठमाडौं फर्केपछि कांग्रेस र एमालेको सरकार बनाउन पहल थाल्ने छु ।’