२३ बैशाख २०८१, आईतवार 1714911821
Banner

राजदेवी मन्दिरमा १४ हजार बोकाको बलि

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झन्डै १५ हजार बोकाको बलि दिइएको छ। यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो।

निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि बलि दिन थालिएकामा मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो।

‌बलि दिनका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजन सोमबार दिउँसैदेखि लाइन लागेका थिए।

बोका बलिका लागि यसपाली चारवटा अस्थायी ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालिन गरिएको थियो। एक मिनेटमा एउटा ठेहामा छवटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो।

बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन पाँच सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो। बोकाको लाइनसहित डोरी र व्यवस्थापनका लागि समेत प्रतिठेहा १० जना जनशक्ति खटाइएको थियो।

राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलि चढाइएको थियो। २०७७ मा ८ हजार ९६८, २०७६ मा १४ हजार ९९७, २०७५ मा १४ हजार ९९७, २०७४ मा १२ हजार ३०७, २०७३ मा १४ हजार ६१७, २०७२ मा १३ हजार ८०१, २०७१ सालमा १४ हजार ७२२, २०७० मा १४ हजार ८६१, २०६९ मा १४ हजार ८६१, २०६८ मा १२ हजार ६५१, २०६७ मा १३ हजार ५५२ र २०६६ मा ११ हजार ७९३ बोकाको बलिप्रदान गरिएको कमिटीले जनाएको छ।