१४ बैशाख २०८१, शुक्रबार 1714174584
अर्थ

महिला नेतृत्व शिखर सम्मेलन हुँदै

नेपालमा महिला नेतृत्व शिखर सम्मेलन ‘वमेन्स लिडरशिप सम्मिट’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसङ्घको आयोजनामा आगामी पुस २९ देखि माघ १ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्र कोभिडका कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य तीनदिने सम्मेलनको रहेको छ । यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरका रुपमा प्रयोग गरिनेछ ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ । परिसङ्घले पहिलोपटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउने आयोजक परिसङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका महिलाहरुको सहभागिता हुने जनाइएको छ ।