२४ बैशाख २०८१, सोमबार 1714990200
Banner

कप्तान सन्दीप बसेको होटलबाट प्रहरीले लियो सीसी टीभी फुटेज

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको सिसी क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ । ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।

सन्दीप उक्त होटलमा पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा पत्ता लगाएको छ । पीडित युवतीले भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् ।

ती प्रहरीका अनुसार सन्दीप र पीडित युवती उक्त होटलमा करीब ७ घण्टा बसेर भदौ ६ गते बिहान ६:४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको छ ।

प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ ।