२४ बैशाख २०८१, सोमबार 1714993715
प्रदेश

इलाममा सुरक्षित आवासगृह नहुँदा समस्या

काठमाडौं । जिल्लामा सुरक्षित आवासगृह छैन । आभासगृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपत्कालीन अवस्थामा राख्न समस्या भएको छ ।

देश सङ्घीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी विषय हेर्नुपर्ने भए पनि इलाममा कुनै स्थानीय तहले महिला तथा बालबालिकालाई आपत्कालीन अवस्थामा राख्ने व्यवस्था नमिलाएको बताउनुभयो । उहाँले यस्ता महिला तथा बालबालिका फेला पर्दा राख्नलाई समस्या हुने गरेको बताउनुभयो । इलामका प्रहरी प्रमुख दिलीप घिमिरेले इलाममा अन्य सुविधा भए पनि महिला तथा बालबालिकालाई आपत्कालीन उद्धारमा समस्या हुने गरेको बताउनुभयो । उहाँले मान्छे राख्न प्रहरीको थाना तथा कारागार भए पनि उद्धार गरेर ल्याएकालाई थानामा राख्न नमिल्ने बताउनुभयो । सरकारी निकाय तथा स्थानीय तहले आपत्कालीन उद्धारका लागि यसको व्यवस्था गर्नुपर्ने सरोकारवालाको भनाइ छ । तर बालबालिकाको सहयोगका लागि जिल्लामा एक संस्थाले ‘बाल हेल्पलाइन’ भने सञ्चालन गरिरहेको छ । ‘बाल हेल्पलाइन’ मार्फत अस्थायी आवासगृह चलाए पनि त्यहाँ तीन जनाभन्दा बढी राख्न नसकिने घटना व्यवस्थापन अधिकृत गायत्री थेगिमले बताउनुभयो ।

उहाँले राखिएकालाई समेत एक महिनाभन्दा बढी राख्न नमिल्ने भएकाले महिलाभन्दा बालक पुनःस्थापना गर्न समस्या रहेको बताउनुभयो । हाल १६ वर्षको एक बालक कहाँ पुनःस्थापना गर्ने भन्ने समस्या भइरहेको उहाँले बताउनुभयो । हालसम्म परिवार पत्ता नलागेकाले समस्या भएको बताइएको छ । उद्धार गरेर ल्याएकालाई एक वर्ष नाघिसक्दा पनि अस्थायी आवासगृहमा नै राखिरहनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उद्धार गरेर राखिएको बालकले घर कहिले उदयपुर त कहिले काठमाडौँ भन्ने गरेकाले पनि उद्धारमा समस्या भएको बताइएको छ । विभिन्न संस्थासँग समन्वय गर्दा पनि अहिलेसम्म बालकलाई आवासगृह नभएका कारण राख्न समस्या भएको छ ।

साथै परिवार पत्ता नलागेका कारण पुनर्मिलन गराउनसमेत नसकिएको बताइएको छ । बालक मधुमेहको बिरामी भए पनि बोल्न र सामान्य लेख्न कोसिस गर्ने भएको हुँदा पुनःस्थापना केन्द्र भए त्यहाँ लगेर सीप सिकाउन सकिने बताइएको छ । बाल हेल्पलाइनमार्फत महिला र बालिकाका लागि पुनःस्थापना केन्द्र भए पनि बालकका लागि पुनःस्थापना केन्द्र नहुँदा झनै समस्या भएको छ । आमासहितको बालक भए आमासँगै बस्न मिल्ने भए पनि बालक मात्र हुँदा समस्या हुने गरेको बताइएको छ । सोह्र दिनदेखि आठ महिनासम्मका बच्चाको उद्धार गर्नुपर्ने अवस्था अहिले पनि रहेका बताइएको छ । उनीहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो समस्या रहेको थेगिमले बताउनुभयो । रासस