१२ बैशाख २०८१, बुधबार 1713971690
समाचार

अनुसन्धानमार्फत देशलाई योगदान दिन बिजुक्छेँको विद्यार्थीलाई आग्रह

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानका रूपमा गलत ढङ्ग प्रयोग गरिरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजमा आयोजना गरिएको विद्यार्थी अभिुमखीकरण कार्यक्रममा उहाँले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रसँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिने काम पनि गर्नुपर्ने बताउनुभयो ।

विश्वका अन्य मुलुकमा इञ्जिनीयर, डाक्टरलगायत अन्य विषयका विद्यार्थी राजनीतिक क्षेत्रमा सक्रिय रहेको चर्चा गर्दै उहाँले ख्वपका विद्यार्थीले पनि आफ्नो विज्ञतासँगै समाज र देशको हितका लागि देशको राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बिजुक्छेँले अङ्ग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालन पनि आवश्यक रहेको बताउनुभयो । अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा कलेज सञ्चालन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नेपालमै सबैभन्दा अगाडि रहेको बताउनुभयो ।

सरकारले सहयोग नगर्दा ख्वप विश्वविद्यालयले सम्बन्धनमा पाउन ढिलाइ भइरहेको भन्दै उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको चर्चा गर्नुभयो । ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवाल, विभागीय प्रमुख डा मन्जिप शाक्य, कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा सुवेगमान बिजुक्छे, कलेजका उपप्राचार्य रवीन्द्र फोँजुलगायतले कलेजले देशभरका विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनुभयो ।