१४ बैशाख २०८१, शुक्रबार 1714191346
समाचार

निर्वाचनमा नेपाल प्रहरीलाई झण्डै आठ अर्ब बजेट

काठमाडौं- आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय बजेट प्राप्त भएको छ ।

नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु पाँच अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो । उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उक्त निर्वाचनका लागि ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । यसपटक स्थानीय तहको निर्वाचनमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् ।

निर्वाचनका समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । उक्त भत्ता सिपहीका हकमा प्रतिव्यक्ति प्रतिदिन रु एक हजार दुई सय हुनेछ । अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले निर्वाचनको मुख्य चार दिन प्रतिदिन रु तीन सयका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् ।

नेपाल प्रहरीले निर्वाचन प्रयोजनार्थ कुल एक सय ८० वटा गाडी (सवारीसाधन) खरिद गर्ने भएको छ । प्रहरीले निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारीसाधन माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि रु ७५ करोड बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ । प्रहरीले बढीमा रु ५० लाखसम्मका गाडी खरिद गर्न पाउनेछ । सोही आधारमा एक सय ८० वटा गाडी खरिद गर्न लागिएको डिआइजी थापाले जानकारी दिनुभयो ।

निर्वाचनमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ । निर्वाचनको १२ दिनका लागि एक हजार ५० गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन रु १० हजार रकम छुट्याइएको छ । बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ । सबै निर्वाचन सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थपघट हुनसक्ने थापाले जानकारी दिनुभयो । यसपालि प्रहरीले १० हजार लठ्ठी खरिद गर्दैछ । प्रतिलठ्ठी रु दुई सयका दरले खरिद गर्ने जनाइएको छ ।

प्रहरीले सात सय बढी सञ्चार सेट तथा आवश्यक हातहतियारको माग गरे पनि उपलब्ध नहुने भएपछि हतियार बहालगिरीमा प्रयोग गर्ने भएको छ । हाल चालु रहेका सेटसहित अपुग भएमा मोबाइलबाटै सञ्चार सेटको काम गरिने छ ।

म्यादी प्रहरीको तलब झण्डै ५० हजार

सरकारले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

उनीहरूका लागि कुल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ । कुल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै रु ५० हजार हाराहारी तलब प्राप्त गर्र्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा रु ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ ।

म्यादी प्रहरीले तलब मात्रै रु ३४ हजार सात सय ६० प्राप्त गर्नेछन् । त्यसका अलावा रासनवापत रु सात हजार २०० पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्र्ने हुँदा केही थपिने छ । पोशाकका लागि रु छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा रु एक हजार थप पाउनेछन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।

यस्तै आवतजावत भाडा खर्च रु एक हजार दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन रु तीन सयका दरले पाउनेछन् । यो खर्च भने सबै प्रहरीले पाउनेछन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।