१४ बैशाख २०८१, शुक्रबार 1714122290
Banner

केन्याविरुद्धको टी–२० सिरिजमा नेपालको जित

केन्याविरुद्धको टी–२० सिरिज नेपालले हात पारेको छ। आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३-२ ले सिरिज कब्जा गरेको हो।

जितका लागि नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो। केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ तथा शेम नेगोचेले अविजित ३३ रनको योगदान गरे। इर्फान करिमले २८ रन जोडे।

बलिङतर्फ सन्दीप लामिछाने र बासिर अहमदले २/२ विकेट लिए। करण केसी, दिपेन्द्र सिंह ऐरी र मोहम्मद अदिल आलमले १/१ विकेट हात पारे।

यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।

ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन जोडे। ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। टी–२० अन्तरराष्ट्रियमा ज्ञानेन्द्रले प्रहार गरेको यो दोस्रो अर्धशतक हो।

रोहित पौडेलले ४७ रनको योगदान गरे। २५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे।

बलिङतर्फ केन्याका बार्च पटेल, शेम नेगोच र नेहेम्याह ओधियाम्बोले २/२ तथा लुकास ओलुओचले १ विकेट हात पारे। एजेन्सी