२१ बैशाख २०८१, शुक्रबार 1714778273
प्रदेश

गण्डकी र प्रदेश १ सँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्रदेश नम्बर १ र गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको विषयमा स्पष्टीकरण माग गरेको छ। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा स्पष्टीकरण माग गर्नुका साथै सो अन्तर्गतको कार्यक्रम सञ्चालन नगर्न र नगराउन निर्देशन दिइएको छ।

मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिसकेको अवस्थामा प्रदेश १ र गण्डकी सरकारले प्रदेशसभाको कार्यकाल सकिन लागेको अवस्थामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत् बजेट विनियोजनका लागि कार्यविधि बनाएर सांसदलाई योजना छनौट एवम् वितरण गर्न लगाइएकोप्रति आयोगले आपत्ति जनाएको हो।

आयोगले निर्वाचनको मिति घोषणा भइसकेको र सांसदको पदावधि सकिन लागेको अवस्थामा सो कार्य गर्नाले निर्वाचनको निष्पक्षतालाई असर पुग्ने र वितरणमुखी कार्यक्रमले यसको स्वच्छतामा नै प्रश्न उठ्न सक्ने जनाएको छ। यो कार्यक्रम गर्दा निर्वाचनको निष्पक्षतामा असर नगर्ने निश्चितता सम्बन्धी विभिन्न प्रश्न आयोगले गरेको छ। 

आयोगले यस्ता कार्यक्रम निर्वाचन सम्पन्न नभएसम्म नगर्न र नगराउन निर्देशन दिएको छ। यो अवधिमा कुनै पनि किसिमको विपद् अवस्थापन वा स्वास्थ्य महामारीको सामना गर्न आवश्यक कामबाहेक मतदाता प्रभावित पार्ने कुनै पनि काम नगर्न निर्देशन दिएको हो।