१३ बैशाख २०८१, बिहीबार 1714067699
अर्थ

एक वर्षमा एमसीए परियोजना कार्यान्वयन हुने

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले कार्यान्वयन गर्ने अमेरिकी अनुदान सहायताका दुई परियोजना एक वर्षपछि कार्यान्वयनमा ल्याइने भएको छ ।  आयोजना कार्यान्वयनका लागि एमसीसी सम्झौताको संसदीय अनुमोदन समयमा हुन नसक्दा कार्यक्रम कार्यान्वयन सुरु गर्ने अवधि पूर्वनिर्धारितभन्दा तीन वर्षपछाडि सारिएको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार आगामी सेप्टेम्बरदेखि प्रसारण लाइन र सडक स्तरोन्नति सुरु हुनेछ ।  बिहीबार पत्रकार सम्मेलनमा उहाँले हाल पूर्वतयारीका काम तीव्र गतिमा भइरहेको र एक वर्षभित्र जग्गा अधिग्रहण, प्रसारण लाइन रेखाङ्कन पुनः अध्ययन, रुख कटान तथा ठेक्का प्रक्रियाका काम सम्पन्न भइसक्ने छन् । उहाँले भन्नुभयो, “अहिले हामी पूर्वतयारीकै चरणमा छौँ । पुनर्बास कार्ययोजना, प्रसारण लाइन रेखाङ्कनका क्रममा आएका गुनासा सम्बोधन जग्गा अधिग्रहण, निर्माण तथा परामर्श ठेक्काको तयारी र रुख कटानको अनुमति लिने काम गरिरहेका छौँ ।” यसअनुसार आयोजना अब सन् २०२८ को सेप्टेम्बरसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेछ । 

एमसीए नेपालले यसअघि सन् २०२०को जुनदेखि कार्यान्वयनको चरणमा लैजाने तयारी थियो तर सम्झौता अनुमोदन नै नभएपछि एमसीसी सहायता नै संशयमा परेको थियो । गत फागुनमा सम्झौता अनुमोदन भएपछि एमसीए नेपालले आफ्ना गतिविधिलाई तीव्रता दिएको हो । 

पूर्वतयारी कार्यका लागि करिब १० अर्ब रुपियाँ खर्च गर्ने निर्धारित पुँजीमध्ये हालसम्म चार अर्ब ७७ करोड रुपियाँ खर्च भइसकेको छ ।