१४ बैशाख २०८१, शुक्रबार 1714114991
विश्व

न्युजिल्याण्ड : सुटकेसभित्र दुई बालबालिकाको शव फेला

साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताउनुभयो ।

न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक सङ्केतका आधारमा टोलीले ती मृत बालबालिका फेला पर्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्र रहेको हुनसक्ने अनुमान गरेको थियो । वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको बताउनुभयो । प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उहाँले बताउनुभयो । “तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,” उहाँले भन्नुभयो । “प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा ‘अनुसन्धानको सकारात्मक सङ्केतहरू’ पछ्याइरहेको छ,” वाएलुआले भन्नुभयो । ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ । “म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा सङ्केतहरू प्राप्त गरिरहेका छौं,” उहाँले भन्नुभयो । घटनाको बारेमा थप जानकारी दिँदै वायलुआले भन्नुभयो, “उनीहरूले क्यानभासिङ र सीसीटीभी सङ्कलन गरिरहेका छन् । यद्यपि, घटना निकै पूरानो हुनसक्ने भएकाले यसलाई चुनौतीपूर्ण बनाइरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।” “हामी अनुसन्धानलाई निष्कर्षमा पु¥याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं । यो कुनै सजिलो अनुसन्धान होइन ।” उहाँले सञ्चारमाध्यमसँग धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै अनुसन्धानमा अन्यथा सम्झौता हुन सक्ने बताएका छन् ।

मृतकका आफन्तहरु न्युजिल्याण्डमा रहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार मोनक्रिफ एभे हाउसमा बस्ने मानिसहरूले गत बिहीबार ‘आफ्नो ठेगानामा स्वामित्व नभएको सम्पत्ति’ ल्याएका थिए र उनीहरु घटनामा संलग्न छैनन् । परिवारले अनलाइन लिलामीको एक भागको रूपमा भण्डारण लकरको सामग्री किनेको र खरीदको भागको रूपमा सुटकेसहरूमा अवशेषहरू फेला पारेको बुझिएको छ । सप्ताह अन्तमा फोरेन्सिक कामदारहरूले घटनास्थलको जाँच गर्दा घरमा प्रहरी घेराबन्दी गरिएको थियो । यस हप्ताको सुरुमा प्रहरीले ठेगाना छोडेको थियो तर ड्राइभवेमा ठूला धातुका ढोकाहरू बन्द गरिएका थिए ।