१४ बैशाख २०८१, शुक्रबार 1714165619
पर्यटन

पर्यटकीय नगरी बन्दिपुरमा बाघजात्रा सुरु

दमौली – तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा बाघजात्रा सुरु भएको छ । खड्गमाई सांस्कृतिक समूहको आयोजनामा आज साँझ बन्दिपुरमा बाघजात्रा सुरु भएको हो ।

कोभिड–१९ को जोखिमका कारण विगत तीन वर्षदेखि ननिकालिएको बाघजात्रा यो वर्ष निकालिएको हो । खड्गमाई सांस्कृतिक समूहका अध्यक्ष गेहेन्द्र कायस्थले संस्कृति संरक्षणका लागि बाघजात्रा निकालिएको जानकारी दिनुभयो । “कोभिडका कारण विगतका वर्षमा बाघजात्रा निकाल्न सकेनौँ, अहिले परिस्थिति सहज भएकाले बाघजात्रा निकालेका हौँ,” उहाँले भन्नुभयो । 

बाघजात्राका लागि स्थानीय समुदायले आज दिउँसो बजारमा निम्तो बाँडेका थिए । बाजागाजासहित बाघको मुकुण्डो लगाएर उनीहरुले बाघजात्रा हेर्न आउन सर्वसाधारणलाई आग्रह गरेका थिए । 

बन्दिपुरमा आज र भोलि बाघजात्रा निकालिन्छ । आज बाघ छट्याएर हिँड्ने, दुःख दिने गर्छ भने भोलि मङ्गलबार सिकारीले लखेटेर बाघलाई मार्ने बन्दिपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले जानकारी दिनुभयो । “आज चाहिँ बाघले दुःख दिने, छट्याउने गर्छ भने भोलि सिकारीले बाघ मारेर राजालाई बुझाउनेछ”, उहाँले भन्नुभयो । 
    
बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा बन्दिपुरका नेवार समुदायका व्यक्तिहरुले अभिनय गर्नेछन् ।