१४ बैशाख २०८१, शुक्रबार 1714147856
राजनीति

निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनु भयो ।

पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब आउने निर्वाचनमा नेकपा (एमाले)ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ। म यो तपाईहरुलाई बताउनु चाहन्छु। अब तपाईंहरुको मनमा प्रश्न उठ्न सक्छ– हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ? स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्यौं। यो हाम्रो दावी मात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताउनु भयो । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक भदौ दोस्रो हप्ताका लागि तय गरिएको उहाँले बताउनु भयो ।

जित्ने र टिक्नेहरूलाई मात्रै पार्टीले सो निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अब हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौं । जित्नेलाई उठाउँछौं, टिक्नेलाई उठाउँछौं । भदौ अन्तिमसम्म हामी चुनावको उम्मेदवारको टुंगो लगाउँछौं । अब बस्ने स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले त्यसका लागि आवश्यक मापदण्ड तय गर्नेछ ।’