१४ बैशाख २०८१, शुक्रबार 1714126821
Banner

रुकुम(पूर्व) दुर्घटना अपडेट : घाइतेको उपचार नेपालगञ्ज र कोहलपुरमा हुँदै

रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा सशस्त्र प्रहरीका प्रनाउ श्रेष्ठसहित चालक प्रहरी हवल्दार डाँगी, प्रहरी जवान बुढामगरलाई नेपालगञ्ज लगिएको थियो भने दोस्रो चरणमा नेपाल प्रहरीका प्रनाउ डाँगी र प्रहरी जवान घर्तीलाई नेपालगञ्ज लगिएको हो ।

अर्का प्रहरी जवान लक्ष्मण पुनलाई पनि नेपालगञ्ज लगिएको छ । उहाँलाई त्यहाँ लग्ने वित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अहिले प्रनाउ डाँगीको शिक्षण अस्पताल बाँके र सशस्त्र प्रहरीका प्रनाउ क्षेष्ठको सशस्त्र प्रहरी बल अस्पताल नौबास्ता बाँकेमा उपचार भइरहेको छ भने अन्यको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको बताइएको छ ।