१४ बैशाख २०८१, शुक्रबार 1714122572
प्रदेश

जसपा विवादः दुई केन्द्रिय सदस्यसहित ६९ जनाको सामुहिक राजीनामा

पर्सा- जनता समाजवादी पार्टी जसपाका पर्सा जिल्लाका दुई केन्द्रिय सदस्यसहित ६९ जनाले सामुहिक राजीनामा दिएका छन् ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जना केन्द्रीय कार्यकारणी सदस्यलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रिय सदस्यद्धय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले सामुहिक राजिनामा दिएका हुन् ।

वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन् ।

पार्टी स्वेच्छचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टचारी हावी भएको भन्दै राजीनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वीरगञ्जमा असार २९–३० गते बसेको जसपाको केन्द्रीय समितिको बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जना कार्यकारणी सदस्यहरुलाई पदमुक्तको कारवाही गरेको थियो ।

कारवाहीमा परेपछि नेता भट्रराईले एक विज्ञप्ति जारीगरी पार्टी कारवाहीको निर्णय खारेज माग गर्दै पार्टी पुनर्गठनका लागि जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।