१४ बैशाख २०८१, शुक्रबार 1714184148
समाचार

चैनपुर ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

खाँदबारी: गृहमन्त्री बालकृष्ण खाणले सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडासहित सुरक्षाअधिकारीलाई घाइतेको तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

मलामी बोकेको को २ त ३९६१ नम्बरको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा दुर्घटना हुँदा दुईको मृत्यु भएको र ३१ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो । घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । गम्भीर छ बिरामीलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रजिअ खतिवडाले जानकारी दिनुभयो ।

गम्भीर घाइते दुई जनाको जिल्ला अस्पताल खातबारीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेका जनाइएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।