२३ बैशाख २०८१, आईतवार 1714952942
Banner

गठबन्धनको उचाइ एमालेको घुँडाजति पनि छैन सपना नदेखे हुन्छ : अध्यक्ष ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध कसैले एक्लै लड्ने आँट गर्न नसक्ने बताउनु भएको छ ।

आज मोरङको विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्ने आँट कांग्रेसले पनि नगरेको बताउनु भएको हो ।

स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध अन्य दलहरु धुरा कसेर मैदानमा उत्रिएको पनि अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्ने क्षमता असाधारण छ । यो कुरा स्थानीय चुनावले पुष्टि गरेको छ ।’

मोरङका १७ मध्ये ९ पालिका जितेको बताउँदै ‌अध्यक्ष ओलीले एमालेसँग अदभुत क्षमता रहेको पनि तर्क गर्नुभयो ।

‌अध्यक्ष ओलीले एमालेसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै कांग्रेस-माओवादीसहित पाँच दलको गठबन्धन आफ्नो बरावरी नभएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन एमालेको घुँडासम्म मात्रै आउने तर्क पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनको उचाइ एमालेको घुँडासम्म मात्रै हो, बराबरीको सपना नदेखे हुन्छ । एक्लै चुनाव लड्दा पनि एमालेले लोकप्रिय मत ल्याएको छ।’