१४ बैशाख २०८१, शुक्रबार 1714145628
विचार

वैदेशिक रोजगारीमा महिलाका सकस

सरस्वती ढुङ्गाना
दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि विदेशिने महिलाको सङ्ख्या बढिरहेको छ तर वैदेशिक रोजगारीमा जाने महिलाको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको देखिन्छ । सरकारले सीपमूलक जनशक्ति तयार पार्न प्राथमिकता दिए पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन । विदेश जाने अधिकांश महिला सीपविना नै जाने गरेको पाइन्छ । जसका कारण उनीहरूले त्यहाँ समस्या भोग्नु परिरहेको छ । वैदेशिक श्रममा जाने महिलामा पुरुषको तुलनामा सीप र दक्षता कमी भएको देखिन्छ । जबकी वैदेशिक रोजगारीमा जाने महिला ५९ प्रतिशत अदक्ष छन् । कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै सीपविना नै विदेश गएको तथ्य प्रकाशमा आएको छ । त्यसमा उच्च दक्षता भएका महिलाको सङ्ख्या शून्य दशमलव शून्य छ प्रतिशत मात्र छ । उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या पनि शून्य दशमलव शून्य पाँच प्रतिशत रहेको देखिन्छ । वितेका तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका महिलाहरू शून्य दशमलव तीस प्रतिशत छन् भने सोही पेसामा जाने पुरुषको सङ्ख्या शून्य दशमलव एघार प्रतिशत रहेको छ ।

वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७५÷७६ को प्रगति प्रतिवेदनअनुसार गतवर्ष सबैभन्दा धेरै महिला कामका लागि कुुबेत गएको देखिन्छ । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिको प्रमुख गन्तव्यमा कतार, साउदी अरब, युएई, मलेसिया पर्दछन् । महिलाका लागि कुबेतपछिको प्रमुख गन्तव्य जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । उक्त देशमा व्यक्तिगत रूपमा श्रम स्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिला छन् । प्रतिवेदनअनुसार व्यक्तिगत श्रम स्वीकृति लिने कुल एक लाख १५ हजार ३९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार ८२० महिला छन् । पुनः श्रम स्वीकृति लिनेमा महिलाको सङ्ख्या कुल श्रम स्वीकृत लिनेकै हाराहारीमा अर्थात् ४५ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६५४ पटक पुनः श्रम स्वीकृति लिएकामा महिलाको सङ्ख्या ६४ हजार ५०७ रहेको छ । कुबेतमा हालसम्म संस्थागत रूपमा श्रम स्वीकृतिमा पाँच हजार ४१ महिला गएको देखिन्छ भने व्यक्तिगत रूपमा जानेको सङ्ख्या २० हजार २७८ देखिन्छ । भारतसहित ६५ भन्दा बढी देशमा एक लाख ५० हजारभन्दा बढी महिला वैदेशिक रोजगारमा आबद्ध छन् । नेपाल भित्रने कुल विप्रेषणको ११ प्रतिशत विप्रेषणमा महिला श्रमिकको योगदान रहेको देखिन्छ ।

नेपाली महिलालाई सुरक्षाको दृष्टिले चुनौती देखिएका देशमा संस्थागत रूपमा भन्दा व्यक्तिगत रूपमा श्रम स्वीकृति दिनेको सङ्ख्या बढी देखिन्छ । प्रायः नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा वा केयरगिभरका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीको जिल्लागत विवरण हेर्दा झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक श्रम स्वीकृत लिनेमा अगाडि छन् । जसमा ५० प्रतिशत महिला नै झापाका छन् । वैदेशिक रोजगारीमा जाने महिलाको कुल सङ्ख्या विश्लेषण गर्दा बागमती प्रदेशका जिल्लाका महिलाको नै बाहुल्यता पाइन्छ । संस्थागत तवरले श्रम स्वीकृति लिने कुल एक लाख ३२ हजार ९९५ महिलामध्ये ९२ दशमलव ३ प्रतिशत त केवल दशवटा जिल्लाले नै ओगट्छ । जसमध्ये काठमाडौँ र मकवानपुरबाट १५÷१५ प्रतिशत छन् भने झापाबाट १७ दशमलव ३४, सिन्धुपाल्चोकबाट १३ दशमलव ९४ प्रतिशत रहेको पाइन्छ । कुबेतमा हालसम्म संस्थागत रूपमा श्रमस्वीकृति लिने पाँच हजार १५१ महिला भएकोमा व्यक्तिगत रूपमा त्यहाँ काम गर्न जाने महिला कामदारको सङ्ख्या २० हजार २८७ रहेको छ । कुबेतमा घरेलु श्रमिकका रूपमा जाने नेपाली महिलाहरूको सङ्ख्यालाई छाड्ने हो भने त्यसपछि जर्मन, डेनमार्क, माल्टा, माल्दिभ्समा बढी मात्रामा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या देखिन्छ । स्वीडेनमा व्यक्तिगत तवरले जाने महिलाहरू बढी छन् । कुबेत, डेनमार्क, जर्मनी र इजरायलमा व्यक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशतभन्दा बढी रहेको पाइन्छ ।

नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त भएका देखिन्छन् । सीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । जसका कारण महिलाहरू बढी हिंसामा पर्नु पुगेको देखिन्छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने महिलाको सङ्ख्या ज्यादा रहेको छ । गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुबेत र युएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिन्न । वैदेशिक रोजगारमा जानेहरू म्यानपावर कम्पनीबाट नै ठगिएको समेत घटना सार्वजनिक भएका छन् । घरमालिकले जथाभावी यातना दिँदा पनि उनीहरू यातना सहन बाध्य छन् । विश्वका कतिपय देशमा उनीहरू तड्पिएर बाँच्न विवश छन् । बिरानो देश, बिरानो परिवेश, न भाषा, न संस्कृति न कानुन नै मिल्छ, त्यस्तो देशमा पनि भगवान् भरोसामा रहेर नेपाली महिला श्रमिकहरू सङ्घर्ष गरिरहेका छन् । दुःख कष्ट भोग्न विवश छन् । ज्यादै कष्टकर जीवन बिताइ रहेका छन् । आफ्नो काम गरेको पारिश्रमिक नपाउनुको पीडा एकातिर छ भने पारिश्रमिक माग्दा उल्टै यातना पाउने गरेबाट पनि नेपाली महिला कामदारको विदेशमा ज्यादै दयनीय अवस्था रहेको प्रतीत हुन्छ । कति ठाउँमा नेपाली महिला श्रमिकको भविष्य सुनिश्चित छैन । थुप्रै नेपाली महिला श्रमिक कतै केयरगिभर त कतै बार डान्सर वा घरेलु कामदारका रूपमा कार्यरत छन् ।

विश्वमा नेपालीहरू रोजगारीका लागि जाने क्रम दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । विदेशका थुप्रै मुलुकमा नेपाली कामदार विभिन्न रूपमा कार्यरत छन् । उनीहरू बढीभन्दा बढी हिंसामा परेका छन् । त्यहाँ भएका नेपाली दूतावास, महावाणिज्य दूतावास तथा श्रमसहचारीले पनि ध्यान नदिएको उनीहरूको गुनासो रहेको छ । साउदी अरब, ओमान, युएई, कतार, कुबेतमा श्रमसहचारी मात्र छन् भने कतार, साउदी अरब, युएईमा भने कन्सुलर मात्र छन् । जोर्डन, इराक, टर्की, सिरिया, साइप्रस, यमन, बहराइन, इरान, इजरायल, लेबनान आदि देशमा कुनै पनि राजदूत, श्रमसहचारी, महावाणिज्य दूतावास, स्थायी नियोग, कन्सुलर र श्रमसहचारी नहुँदा त्यहाँ नेपाली श्रमिकलाई ठूलो समस्या परेको छ ।

पछिल्लो समयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारका क्रममा अङ्गभङ्ग भएका, मृत्यु भएका र गम्भीर प्रकृतिका बिरामी भएका परिवारका एक सदस्यलाई निःशुल्क प्राविधिक शिक्षा वा तालिम दिने व्यवस्था गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि जानेका परिवारलाई केही भए पनि राहत मिल्ने देखिन्छ । वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बन्धित म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने सास्ती वा पीडा न्यून हुन पुग्दछ । वैदेशिक रोजगारीका निहँुमा झट्टै हामफाल हाल्नु हुँदैन भन्ने कुरा वैदेशिक रोजगारीमा पुगेका महिला श्रमिकको समस्या र उनीहरूले भोग्नु परेका पीडाका खबरबाट बुझ्न सकिन्छ । त्यसैले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व सबै कुरा राम्रोसँग बुझेर जानु पर्दछ ।