१८ बैशाख २०८१, मंगलवार 1714496593
Banner

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए। उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याए। राप्रपाका मदनदास श्रेष्ठ ५७७० मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भएकी छिन्। उनले ६८ हजार ६१२ मत प्राप्त गरिन्। देशभरका जनप्रतिनिधिमध्ये सुनिताले प्राप्त गरेको मत सबैभन्दा धेरै हो।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए। यस्तै, स्वतन्त्र उमेदवार विद्या श्रेष्ठ महर्जनले १३ हजार ६९५ मत प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बिनिता मगैयाले १२ हजार १४१ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत प्राप्त गरे ।

१ लाख ९१ हजार १ सय ८६ मत खसेको काठमाडौंमा मतगणना सुरु गरेको दुई सातापछि अन्तिम परिणाम सार्वजनिक भएको हो।