१३ बैशाख २०८१, बिहीबार 1714026796
पालिका

५० जना युवालाई दुल्लु नगरपालिकाले ड्राइभिङ तालिम दिने

दैलेख- जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ ।

नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो । युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए ।‘दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका बेला युवाहरूलाई रोजगारी दिने प्रमुख एजेन्डा थियो,’ उनले भने, ‘ सोही अनुसार पालिका भित्र रहेका बेरोजगार युवाहरूलाई सवारी चालक तालिमको सुरुवात गरिएको हो ।’

नगरपालिकामा रहेका १३ वडाका युवाबाट छनोट गरेर पहिलो चरणमा ५० जनालाई यो तालिम दिने र पछि पनि अन्य विभिन्न कार्यक्रमबाट नगरका युवालाई स्वरोजगार सम्बन्धी सिप सिकाउने लक्ष्य रहेको नगरप्रमुख रिजालले बताए । एक महिनासम्म युवालाई सवारी चालक तालिम दिएर सवारी चालक अनुमति पत्र सङ्गै प्रमाणपत्र प्नदान गरिनेछ ।